काठमाडौं- नेपालमा आज थप ३ लाख ४८ हजार डोज कोभिड-१९ विरुद्दको खोप आउने भएको छ। कोभ्याक्स फ्यासिलिटी अन्तरगत नेपालले नि:शुल्क रुपमा उक्त खोप पाएको हो। कोभ्याक्सले नेपालको खोप लगाउने जनसंख्या मध्ये २० प्रतिशतलाई पुग्ने गरी एक करोड ३० लाख डोज खोप उपलब्ध गराउने छ।
उक्त खोपमध्ये पहिलो चरणमा आज ३ लाख ४८ हजार डोज खोप नेपाल आइपुग्ने भएको हो। कोभ्याक्सले हाल नेपालमा प्रयोगमा ल्याइएको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप नेपाललाई उपलब्ध गराउने भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले ११:१५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पहिलो खेप अन्तरगतको खोप आइपुग्ने जानकारी दिए। उनले उक्त खोप लिन आफू पनि विमानस्थलमा जाने जानकारी दिए।
विश्वका २० देशमा कोभ्याक्सको कार्यक्रम अनुसारका खोपहरु पठाइएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ। विश्व स्वास्थ्य संगठनले दिएको जानकारीअनुसार कोभ्याक्स कार्यक्रम अनुसारका करिब दुई करोड मात्रा खोप विश्वका विभिन्न २० देशमा पठाइएको छ।