काठमाडौं - आइतबार डेढ लाख बढी ६५ वर्ष माथिका ज्येष्ठ नागरिकले कोरोना विद्धरुको खोप लगाएका छन्। सरकारले आइतबारदेखि सुरु गरेको दोस्रो चरणको खोप अभियान अन्तर्गत १ लाख ६५ हजार ४ सय २८ जना ज्येष्ठ नागरिकले खोप लगाएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले कुल जनसंख्याको ९ दशमलव २८ प्रतिशतले खोप लगाएको बताए। दोस्रो चरण अन्तर्गत ६५ वर्ष माथिका १७ लाख ८२ हजार ४ सय ६९ जनालाइ खोप लगाउने सरकारको लक्ष्य छ।
खोप लगाउनेको संख्या सबैभन्दा धेरै लुम्बिनी र सबैभन्दा कम बागमती प्रदेशमा छ। प्रदेश १ मा २३ हजार १ सय ८८, प्रदेश २ मा २० हजार ७ सय ५९, बागमतीमा १० हजार ४ सय ८, गण्डकीमा ३१ हजार १ सय ८९, लुम्बिनीमा ४७ हजार २ सय ४८, कर्णालीमा १० हजार ५ सय ६७ र सुदूरपश्चिम प्रदेशमा २२ हजार ६९ जनाले खोप लगाएका छन्।
३ सय ७४ पालिकाले मात्र खोप बारे रिपोर्ट गरेको मन्त्रालयले जनाएको छ। सबै पालिकाहरुलाई खोप बारे रिपोर्ट गर्न प्रवक्ता गौतमको आग्रह छ।