काठमाडाैं– मस्तिष्कघात भएर नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई पुन: भेन्टिलेटरमा सारिएकाे छ।
१४ फागुनमा अस्पताल भर्ना भएका उनको स्वास्थ्यमा क्रमिक सुधार आएपछि भेन्टिलेटरबाट निकालिएको थियो। तर, शनिबार बिहानदेखि एक्कासी श्वासप्रश्वासमा र मुटुको चालमा समस्या भएपछि भेन्टिलेटरमा सारिएकाे उपचारमा संलग्न डा राजीव झाले बताए।
'भेन्टिलेटरको सपोर्टमा भए पनि अहिले उहाँको रक्तचाप सामान्य छ भने प्रति मिनेट उहाँ आफैंले ८–१० पटक सास फेरिरहनुभएको छ,' डा झाले भने, 'आँखाका नानीहरुको प्रतिक्रिया पनि सामान्य नै छ, तर उहाँ अझै कोमामै हुनुहुन्छ।’
मष्तिष्कघात हुँदा रक्तश्राव भई जोशीको टाउकोमा रगत जमेको थियो। यस्ता बिरामीहरुमा उपचारको क्रममा पुनः समस्या आउनु स्वभाविक परिणाम रहेको डा झा बताउँछन्।
मंगलबार दिउँसो ३ बजेसम्मको उनको स्वास्थ्य अवस्था स्थिर, तर जोखिमपूर्ण नै देखिएको डा झाले जानकारी दिए।
यसअघि गत सोमबार बिहानबाट उनले आफैंले सास फेर्न थालेपछि भेन्टिलेटरको फूल सपोर्ट हटाई भेन्टिलेटरको सपोर्ट लगातार कम गर्न थालिएको थियो। बेहोस् अवस्थामा भेन्टिलेटरमा रहेको बिरामीलाई श्वासप्रश्वासमा सहजता होस् भनेर केही दिनअघि नेता जोशीको घाँटीमा सानो प्वाल पार्ने सर्जरी(ट्रयाकियोसटोमी) समेत गरिएको थियो।
‘उहाँको स्वास्थ्य अवस्थामा तीव्र सुधार आउने हामीले अपेक्षा गरेका छौं’ डा झाले भने।