काठमाडौं- चाबहिलस्थित ॐ अस्पतालमा १०४ वर्षीया महिलाले कोरोना भाइरसविरुद्दको खोप लगाएकी छिन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा सुरु गरेको कोरोना खोप अभियान अन्तर्गत ॐ अस्पतालमा पुगेर ती महिलाले आज खोप लगाएकी हुन्।
ॐ अस्पतालमा पनि जेष्ठ नागरिकका लागि खोप केन्द्र बनाइएको छ। अस्पतालको खोप केन्द्रमा आज बिहान ११ बजे काठमाडौं महानगरपालीका वडा नं.७ कुमारीगालकी स्थानीय बासिन्दा १०४ बर्षीया जेष्ठ नागरिक मनरुपा चौलागाईंले कोभिड-१९ विरुद्धको खोप लगाएकी हुन्।
छोरा बुहारीका साथमा ॐ अस्पतालस्थित खोपकेन्द्र आएकी मनरुपाले कुराकानीका क्रममा १९९० सालको भुँइचालो जाँदा १४ बर्षकी किशोरी रहेको बताइन्। उनले त्यसताकाको राणाकालिन समय र पञ्चायतकालिन समयको नेपाली जनजिवनबारे पनि खोप केन्द्रमा जानकारी गराएकी थिइन्।
१०४ वर्षको उमेरमा पनि मनरुपा सक्रिय छिन्। उनी चारतल्ले घरमा आफैं उक्लन र ओर्लन सक्छिन्।
कुराकानीका क्रममा उनले आफूलाई साकहारी सबै खानेकुरा मनपर्ने र नमीठो लाग्ने कुनैपनि खानेकुरा नभएको बताइन्। उनलाई दही, दुध र फलफुल औधि मनपर्छ। थोरै थोरै तर पटक पटक खाइरहने र प्रशस्त पानी पिउने उनको बानी छ।
१० सन्तानकी आमा मनरुपालाई कोरोना महामारीका बारेमा पनि राम्रो जानकारी छ। सधैं मास्क लगाएर हिँड्ने गरेको र बेलाबेलामा राम्रोसँग हात धुने गरेको उनले बताइन्। उनले बुढाबुढीलाई धेरै अफ्ठ्यारो पार्ने कोरोना रोक्ने खोप लगाउन आएको पनि बताइन्।

काठमाडौं महानगरपालिका वडा नं ७ का वडाध्यक्ष शुद्ध कुमार डंगोलले वडाबासीहरु मध्येकी सबैभन्दा जेष्ठ नागरिक मनरुपालाई भेटेर सुस्वास्थ्यको कामना समेत गरे।
ॐ अस्पतालका मेडिकल डाइरेक्टर डा हरिश जोशीले कोभिड-१९ विरुद्धको विश्वव्यापि लडाईं र राष्ट्रिय खोप कार्यक्रममा नेपाल सरकार र ॐ अस्पतालको सहकार्यलाई स्वीकार गरी खोप केन्द्रमा जेष्ठ नागरिकको उत्साहजनक सहभागिता रहेको बताए। उनले खोप केन्द्रलाई व्यवस्थित बनाइएको पनि जानकारी दिए।