काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप अभियान चलिरहेको भन्दै खोप लगाउन सबै ज्येष्ठ नागरिकलाई आग्रह गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले मंगलबारको प्रेस ब्रिफिङ मार्फत ६५ वर्ष माथिका सबै ज्येष्ठ नागरिकलाई खोप लगाउन आग्रह गरेका हुन्।
आफैं खोप केन्द्रमा जान नसक्ने ज्येष्ठ नागरिकलाई परिवारका सदस्य, स्थानीय तह र स्वयंसेवकहरुले खोप लगाउन सहयोग गरीदिन पनि उनले आग्रह गरे। खोप लगाउन आउने सबैले उमेर खुल्ने परिचयपत्र लिएर खोप केन्द्रमा जानुपर्ने र परिचय पत्र नभएकालाई सम्बिन्धत वडाको सिफारिस लिएर जानुपर्ने डा गौतमको भनाइ छ।
कतिपय व्यक्तिहरुमा खोपको विषयमा भ्रम सिर्जना भएको भन्दै डा गौतमले कोरोना विरुद्धको कोभिसिल्ड खोप विश्व स्वास्थ्य संगठनले प्रयोगका लागि अनुमति दिएकाले सुरक्षित भएको पनि जानकारी दिए। उनले यो खोप ढुक्क भएर लगाउन सबैलाई आग्रह समेत गरे ।
डा गौतमले कोरोना भाइरस विरुद्धको खोपको विषयमा रहेका तीन वटा भ्रमहरुको जवाफ पनि दिएका छन् ।
यस्तो छ कोरोना सम्बन्धी तीन भ्रम र यर्थाथ
१. खोप लगाउँदा विभिन्न समस्या देखियो भने खोपले काम गरेको नत्र नगरेको बुझिन्छ । वास्तविकता के हो ?
अन्य रोगको खोप लगाउँदा जस्तै यो खोप लगाउँदा पनि खोप लगाएको ठाउँमा दुख्ने, सुन्निने, टाउको दुख्ने, वाकवाक लाग्ने, जीउ दुख्ने र ज्वरो आउने जस्ता सामान्य समस्याहरु देखिन सक्छन्। यस्ता लक्षणहरु कसैलाई देखिन्छ तर कसैलाई नदेखिन पनि सक्छ। त्यसकारण लक्षणहरु नदेखिँदा खोपले काम नगरेको भनेर बुझ्नु हुँदैन।
२. यो खोपमा पशुपन्छीको अंग प्रयोग भएको छ?
कोभिड विरुद्धको खोप बनाउँदा विभिन्न पशुपन्छीको अंग प्रयोग भएको भन्ने भ्रमको कारण केही धार्मिक समुदायमा यो खोप लगाउन हिचकिचाएको भन्ने सुनिएको छ । तर, यसमा कुनै सत्यता नरहेको कुरा स्पष्ट पार्न चाहन्छु ।
३. युवाहरुलाई भन्दा अघि किन वृद्धवृद्धालाई खोप लगाइयो ?
यो खोप १८ वर्ष माथिका सबैले लगाउनुपर्छ । तर खोप उपलब्धताको आधारमा प्राथमिकिकरण गर्दा कोरोना संक्रमण भएपछि ज्येष्ठ नागरिकलाई यो रोगको जोखिम धेरे भएकाले उहाँहरुलाई प्राथमिकतामा राखिएको हो। खोपको उपलब्धताका आधारमा सबैलाई खोप लगाउने लक्ष्य सरकारको छ।