काठमाडौं - नेपाल फार्मास्युटिकल एशोसिएसनले फार्मेसी पसलमा धनी र व्यवसायी छुट्टाछुट्टै हुन पाउने निर्णय तत्काल सच्याउन माग गरेको छ।
एशोसिएसनले औषधि व्यवस्था विभागलाई ज्ञापनपत्र बुझाउँदै आफ्नो त्रुटिपूर्ण निर्णय तत्काल सच्याउन माग गरेको हो। औषधि पसलमा धनी र व्यवसायी छुट्टाछुट्टै राखी सञ्चालन गर्ने निर्णयले नियमनकारी निकायको कार्यमाथि नै प्रश्न उठाएको एशोसिएनसले जनाएको छ।
औषधि ऐनमा व्यवस्था नभएका विषयलाई विभागले निहीत स्वार्थको लागि धनी र व्यवसायी फरक हुन पाउने निर्णय गरेको भन्दै उनीहरुले आपत्ति जनाएका छन्। फार्मेसी पसलमा फर्मासिस्ट, फार्मेसी सहायक वा फर्म व्यवसायीको नाममा मात्र दर्ता हुने वातावरण बनाउन उनीहरुको माग छ ।
ज्ञापनपत्रमा भनिएको छ, ‘ऐन संगत नभएका, ऐनमा प्रावधान नै नरहेको विभागको स्वेच्छाचारी निर्णयलाई तत्काल बदर गरी पसल वा फर्म व्यवसायी, फर्मासिस्ट एवं फार्मेसी सहायकको नाममा मात्र दर्ता हुने वातावरणको व्यवस्था गर्न जोडदार माग गर्दछौ।’