काठमाडौं- विश्व मिर्गौला दिवसको अवसरमा आयोजना गरिएको प्रत्यारोपण खेलकुद प्रतियोगितामा प्रत्यारोपित टोलीले जित हात पारेको छ। प्रतियोगितामा प्रत्यारोपित टोलीले चिकित्सक लगायतको टोलीलाई ४-१ गोलको अन्तरले पराजित गरेको थियो।
प्रत्यारोपित तथा अंगदाताको टोली र चिकित्सक, नर्स, पत्रकार, कलाकार, समाजसेवी लगायत टोलीबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको थियो।
विजयी टोलीका क्याप्टेन मिर्गौला प्रत्यारोपित झमकबहादुर श्रेष्ठलाई ट्रफी तथा उत्कृष्ट फुटबल घोषित तथा विशेष आचार्यलाई नगद पुरस्कार प्रदान गरिएको छ।
‘मिर्गाैला रोग लागे पनि राम्ररी जिउँ' भन्ने नाराका साथ बिहीबार विभिन्न जनचेतनाका साथ मनाइएको छ। मिर्गौला रोग लागेर प्रत्यारोपण गरिसकेका व्यक्ति तथा मिर्गौला दान दिएका व्यक्तिहरु पनि समाजमा अन्य व्यक्ति सरह केही गर्न सक्दछन् भन्ने उद्देश्यले विश्व मिर्गौला दिवसका अवसर पारेर फुटबल प्रतियोगिताको आयोजना गरेको थियो।
उक्त कार्यक्रममा नेपालमा पहिलो पटक ११ बर्ष अघि दोश्रो मिर्गौला प्रत्यारोपण गरेका धर्मराज पौडेल, पहिलो कलेजो प्रत्यारोपण गर्ने बलराम नागा, दुइ परिवार बीच साटासाट गरी मिगौला प्रत्यारोपण गर्ने खेमराज निरौला र बिष्णुबाबु श्रेष्ठ, मस्तिष्क मृत्युबाट प्राप्त अंगदानबाट मिर्गौला प्रत्यारोपण गर्ने मिलन श्रेष्ठ र गोबिन्द तिमिल्सिना, उनीहरुका अंगदाता र परिवारलाई विशेष सम्मान गरिएको थियो।