काठमाडौं– वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा भएको अनियमितताको विषयमा छानविन गर्न गठित समितिले समयसिमा भित्र नै छानबिन गर्न असफल भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन १३ गते प्रमुख जनस्वास्थ्य प्रशासक रीता भण्डारी जोशीको संयोजकत्वमा वीर अस्पतालका उपसचिव दिपक घिमिरे, स्वास्थ्य मन्त्रालयका शाखा अधिकृत दिपक रिजाल र राष्ट्रिय ट्रमा सेन्टरका शाखा अधिकृत जुना खड्का खत्री सहितको ४ सदस्यीय समिति गठन गरेको थियो ।
स्वास्थ्य मन्त्रालयले सो समितिलाई वीर अस्पताल र ट्रमा सेन्टरको अनियमितताको विषयमा अध्ययन गरी १५ दिन भित्रमा अध्ययन प्रतिवेदन पेस गर्न भनिएको थियो।
स्वास्थ्य मन्त्रालयले दिएको समयअवधि शुक्रबार सकिएपनि सो समितिले भने छानबिनको प्रक्रिया अझै नटुंगिएको बताइएको छ। समयमा काम नसकिएपछि समितिले थप समय माग गरेको छ। समितिले बैठक समेत बस्न नसकेको बताइएको छ। ‘छानबिन गरेर प्रतिवेदन बुझाइसक्नु पर्ने हो तर के कुरामा अलमल भयो बुझ्न सकिरहेका छैनौँ,’ समितिका एक सदस्यले भने, ‘दुवै अस्पतालका निर्देशकमाथि नै उजुरी परेकाले पनि छानबिनलाई प्रभावित गर्ने काम भइरहेको छ।’
वीर अस्पताल तथा ट्रमा सेन्टरका कर्मचारीहरुले गत फागुन २ गते वीर अस्पताल र ट्रमा सेन्टरमा अनियमितता भएको भन्दै उक्त विषयमा छानबिन गरी दोषिलाई कारबाही गर्न माग गर्दै प्रधानमन्त्री कार्यालयसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग, स्वास्थ्य मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी दिएका थिए। उनीहरुले वीर अस्पताल र ट्रमा सेन्टरमा कर्मचारी भर्ना, सरुवा र कमिसनमा आफु निकट व्यापारीसँग नियमविपरित सामान खरिद गरिरहेको भन्दै ट्रमाका निर्देशक डा सन्तोष पौडेल, वीर अस्पतालका निर्देशक डा केदार सेञ्चुरी लगायतलाई उजुरी हालेका थिए।