फाइल तस्बिर
काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खरिद गरेको १० लाख खोप नआउँदा एक दिनको १ लाख ३६ हजार ९ सय रुपैयाँ घाटा लागिरहेको छ। स्वास्थ्य मन्त्रालयले अक्सफोर्ड एस्ट्राजेनिकाले विकास गरेको भारतको सेरम इन्स्च्यिुटले उत्पादन गरेको कोभिसिल्ड खोप खरिदका लागि गत फागुन ५ गते अग्रिम भुक्तानी गरेको थियो।
मन्त्रालयले २० लाख डोज खरिदका लागि प्रति एक डोज खोपको ४ डलरका दरले एक अर्ब रुपैयाँ अग्रिम भुक्तानी गरेको थियो। तर, सेरमले गत फागुन ९ गते १० लाख डोज खोप मात्र पठाएको थियो। पहिलो चरणको खोप आएको एक साताभित्रै दोस्रो चरणको खोप पठाउने भने पनि सेरमले आजसम्म खोप पठाएको छैन।
सेरमले खरिदको खोप पठाउन ढिलाइ गर्दा भुक्तानी भइसकेको रकमको ब्याज भने घाटा लागिरहेको छ।
‘अहिले ५० करोडको खोप आउनै बाँकी छ। सरकारी काममा वर्षको १० प्रतिशतले ब्याज बढ्छ। यो हिसावले हामीलाई हरेक दिन १ लाख ३६ हजार ९ सय रुपैयाँ घाटा लागिरहेको छ। सस्तोमा किनेको भनेको खोपको मूल्य महिनाको चार रुपैयाँले बढी परिरहेको छ,’ मन्त्रालय स्रोतले भन्यो।
५० करोडको १० प्रतिशतका दरले वर्षको ५ करोड भन्दा बढी पर्छ।
स्वास्थ्य मन्त्रालयले सेरमलाई रकम भुक्तानी गरेको आज २६ दिन पुगेको छ। दैनिक १ लाख ३६ हजार ९ सय ८६ रुपैयाँका दरले २६ दिनको ३६ लाख ७० हजार ९६ रुपैयाँ घाटा लागि रहेको छ।
‘जति ढिलो भयो त्यति नै खोपको मूल्य बढ्दै जान्छ। यो खोपको मात्र मूल्य हो। यसमा अन्य खर्च पनि बढ्छ। खोप लगाउन अन्य तयारी गर्नुपर्यो। कर्मचारीलाई फेरि टिएडिए दिनुपर्ने, ढुवानी, वितरणका लागि पनि खर्च बढ्दै जान्छ,’ मन्त्रालय स्रोतको भनाई छ।
स्वास्थ्य मन्त्रालयले सेरमले खोप पठाउन ढिलाइ गरेपछि खोप कार्यक्रम प्रभावित भएको समेत जनाएको छ।
देशका कतिपय स्थानमा खोप कार्यक्रम बन्द नै भइसकेको मन्त्रालयको भनाई छ।
रकम नै भुक्तानी भइसकेको कोरोना खोप कहिले आउँछ ? भन्ने जिज्ञासामा स्वास्थ्यका कर्मचारी अझै ढुक्क भएर भन्न सक्ने अवस्थामा छैनन्। मन्त्रालय र मातहतका कर्मचारीले बाँकी भएको १० लाख डोज खोपका विषयमा कम्पनीसँग कुराकानी गरिरहेका छन्।
‘यही दिन नै खोप आउँछ भन्न सकिने अवस्था छैन,’ मन्त्रालयका एक उच्च तहका कर्मचारीले भने, ‘सम्भवत भोलि सोमबार हामीले खरिद गरेको १० लाख डोज खोप आउन सक्छ।’