काठमाडौं- विश्वका १०० उत्कृष्ट नर्स तथा मिडवाइफको सूचीमा पर्न सफल नेपालका नर्स तथा मिडवाइफहरुलाई स्वास्थ्य तथा राज्यमन्त्री नवराज रावतले सम्मान गरेका छन्।
राज्यमन्त्री रावतले सोमबार स्वास्थ्य मन्त्रालयस्थित आफ्नो कार्यकक्ष उनीहरुलाई सम्मान गर्दै बधाई दिएका हुन्।
विश्वभरका उत्कृष्ट १०० नर्स तथा मिडवाइफको सूचीमा नेपालबाट पहिलो रजिष्ट्रर मिडवाइफहरु प्रशंसा बुढा लामा र रुक्मणी त्रिपाठी र नर्सतर्फ दुर्गा सापकोटा र सुष्मा योञ्जन परेका थिए।
राज्यमन्त्री रावतले नर्स तथा मिडवाइफहरु विश्व स्तरमा सूचीकृत हुनु नेपालको लागि गर्वको विषय भएको बताए। उनले नर्स तथा मिडवाइफहरु वृत्तिविकास लागि समेत पहल गर्ने प्रतिवद्दता जनाएका छन्।
सम्मानित भएका नर्स तथा मिडवाइफले आफ्ना समस्याहरुका बारेमा पनि स्वास्थ्य राज्यमन्त्रीलाई जानकारी गराएका थिए।
‘नेपालको मातृशिशु मृत्युदर कम गर्दै सम्मानजनक प्रसुति सेवाबारे जानकारी गराउनुका साथै मिडवाइफको दरबन्दि सिर्जना गर्न, उनीहरुलाई योग्यता अनुसारको स्वास्थ्य संस्थामा काम गर्ने वातावरण बनाउन अनुरोध गर्यौँ,’ मिडवाइफ प्रशंसा बुढा र रुक्मणी त्रिपाठीले बताए। नर्स दुर्गा सापकोटा र सुष्मा योञ्जनले नर्स बिरामीको अनुपात, नर्सको पारिश्रमिकका बारेमा कुरा उठाएका थिए।
लामा र त्रिपाठी नेपालको पहिलो ब्याचका मिडवाइफ हुन्। मिडवाइफ लामा र त्रिपाठीले कोभिड१९ को समयमा गर्भवती महिलाहरुलाई निशुल्क अनलाइन तथा टेलिफोन मार्फत निशुल्क परामर्श दिएका थिए।हाल उनीहरु परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल थापाथलीमा मिडवाइफ अफिसरका रुपमा कार्यरत छन्।
यस्तै योञ्जनले समुदायमा पुगेर महिलाहरुलाई पोषण तथा महिलाहरुको स्वास्थ्य समस्याको विषयमा पराशर्म दिने गरेकी छन्। उनी हाल मिडवाइफरी सोसाइटी अफ नेपाल(मिडसन)मा कार्यरत छिन्।
नर्स सापकोटाले यौन, प्रजनन, मातृ तथा नवजात शिशु र किशोर किशोरीको स्वास्थ्यको क्षेत्रमा लागेको वर्ष भन्दा बढी समय भइसकेको छ। उनी अधिवक्ता समेत हुन। सापकोटा हाल त्रिभुवन विश्व विद्यालयबाट वुमन हेल्थमा स्नातकोत्तर गरिरहेकी छिन्।
नर्स तथा मिडवाइफको अन्तर्राष्ट्रिय वर्ष २०२० को अवसरमा विश्व स्वास्थ्य संगठन, यूएनएफपिए, अन्तर्राष्ट्रिय नर्सिङ परिषद् तथा अन्तर्राष्ट्रिय मिडवाइफ सघंले संयुक्त रुपमा नेपालका ४ जनासहित सय जनालाई सूचीकृत गरेको हो।