काठमाडौं- कोरोना विरुद्ध दोस्रो प्राथमिकतामा परेकाहरुका लागि संचालन गरिएको खोप अभियानमा करिव १९ प्रतिशत खोप केन्द्रलाई आफ्नो लक्षित समुह नै थाहा नभएको पाइएको छ।
दोस्रो चरणमा सञ्चालित विभिन्न खोप एक अनुगमन प्रतिवेदनका अनुसार देशभर रहेका खोपकेन्द्र मध्ये करिव १९ प्रतिशतलाई खोप लगाउने लक्षित समुह नै थाहा नभएको पाइएको हो।
सो अनुगमन प्रतिवेदनका अनुसार १९ प्रतिशत खोप केन्द्रमा आवश्यक मात्रामा मास्क नै उपलब्ध नभएको र २५ प्रतिशत खोप सेसनमा मास्कको प्रयोग नै नभएको समेत पाइएको छ।
यस्तै ३३ प्रतिशत खोप केन्द्रहरुमा खोप अभियान संचालन गर्दा दुई मिटरको सामाजिक दुरी पनि कायम नगरिएको पाइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो प्रतिवेदन प्रति स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै सबै खोप केन्द्रले आवश्यक मास्क उपलब्ध गराइ खोप सेसनमा सबैले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने बताए।
डा गौतमले दोस्रो प्राथमिकतामा परेका लक्षितवर्ग ६५ वर्ष माथिका ज्येष्ठ नागरिक र पहिलो प्राथमिकतामा परेका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक तथा सहचालक अर्थात पहिलो चरणको अभियानमा कारणवश खोप लगाउन छुटेका व्यक्तिहरु भएको पनि स्पष्ट पारे।
उनले कोरोना संक्रमितको संख्या कम भएपनि जोखिम कम नभइसकेकोले कोरोना संक्रमणले कुनैपनि बेला फेरी महामारीको रुप लिनसक्ने बताए। उनले सबैले जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने पनि बताए।