काठमाडौं- झापास्थित प्रस्ताबित बिएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले कानुन अनुसार नै सम्बन्धन माग गरिएको बताएका छन्। राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा उनले चिकित्सा शिक्षा ऐेन अनुसार नै सम्बन्धन पाउन माग गरिएको बताएका हुन्।
उनले चिकित्सा शिक्षा ऐनको दफा १३ को उपदफा ६ अनुसार नै सम्बन्धनको माग गरिएको जानकारी दिए।
ऐनको उक्त उपदफामा 'यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि यो ऐन जारी भएपछि एक विश्वविद्यालयले पाँच भन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन सक्ने छैन। तर यो ऐन जारी हुनुभन्दा अघि सम्बन्धन दिई सकेका र मनासयपत्र लिई मापदण्ड पूरा गरेका काठमाडौं उपत्यका बाहिरका शिक्षण संस्थाको हकमा यो प्रावधान लागू हुने छैन। काठमाडौं उपत्यका बाहिरका अन्य शिक्षण संस्थाका हकमा आयोगले निर्णय गरे बमोजिम हुनेछ। आयोगले निर्णय गर्दा यस ऐनको कुनैपनि कुराले बाधा पुग्ने छैन' भन्ने कुरा उल्लेख छ।
प्रसाईंले आफ्नो कलेजले ऐन आउनुभन्दा अघि नै मनासय पत्र लिएको र मापदण्ड समेत पुरा गरिसकेको दाबी गर्दै नियमअनुसार आफ्नो कलेजले सम्बन्धन पाउनु पर्ने बताए।
तर आयोगले बिएन्डसीको हकमा धेरै प्रक्रिया पुरा गर्न बाँकी रहेको बताएको छ। आयोगले बिएन्डसीको मनासयपत्र नविकरण नभएको र अन्य कागजपत्रका विषयमा अध्ययन भइरहेको जनाएको छ।
प्रसाईंले आफूले २०६८ सालदेखि सरकारकै निर्णय र कानुन अनुसारको प्रक्रिया पुरा गर्दै अगाडि बढेको बताएका छन्। उनले प्रदेश १ का जनताको उपचारका लागि पनि आफूले मेडिकल कलेजको सम्बन्धन पाउनु पर्ने दाबी गरे।