डोटी - दिपायल सिलगढी नगरपालिका-५ सिलगढीस्थित इन्द्रचोकमा जनस्वास्थ्य प्रवर्द्धन केन्द्रको स्थापना गरिएपछि यहाँका नागरिकलाई उपचार गर्नमा सहज भएको छ। जनस्वास्थ्य प्रवर्द्धन केन्द्रमा हाल उपचार गराउन आउने बिरामीको सङ्ख्या दिनहुँ बढ्दै जान थालेको स्थानीयवासी बताउँछन्।
हाल उक्त केन्द्रमा दैनिक १० देखि १५ जनासम्म बिरामी उपचारका लागि आउने गरेको केन्द्रले जनाएको छ। सो केन्द्रमा एकजना एचए, एक अहेव, एक अनमी र एक कार्यालय सहयोगी गरी चार जनशक्ति राखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए।
केन्द्र स्थापना भएसँगै यहाँका ज्येष्ठ नागरिक, महिला तथा अशक्त व्यक्तिलाई उपचार गर्न निकै सहज भएको दिपायल सिलगढी नगरपालिका-५ सिलगढीका स्थानीयवासी हेम केसीले बताए। उनले भने, 'ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिलाई जिल्ला अस्पतालमा गएर सेवा लिन समस्या भएको थियो, अहिले घर नजिकै केन्द्र खोलिएपछि उपचारका लागि सहज भएको छ।'
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायल राजपुरको सहयोगमा स्वास्थ्य कार्यालय डोटी मातहत रहने उक्त केन्द्रको स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका निर्देशक डा गुणराज अवस्थी र दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासीले संयुक्तरूपमा उद्घाटन गरेका हुन्।
चालु आर्थिक वर्षमा सुदूरपश्चिमका नौवटै जिल्लामा उक्त केन्द्र स्थापना गर्ने कार्यक्रम रहेको निर्देशक डा अवस्थीले जानकारी दिए।
स्वास्थ्य क्षेत्रमा जनसङ्ख्याको बढ्दो चापका कारण स्वास्थ्य सेवा पहुँच बढाउनुपर्ने र केन्द्रलाई उद्देश्यअनुरूप सञ्चालन गरिनुपर्ने डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए।
उनले, 'पछिल्लो समय जिल्ला अस्पताललगायतका क्षेत्रमा उपचार गर्न आउने बिरामीको चाप बढ्दो छ, चाप घटाउनका लागि भए पनि सबै स्थानीय तहमा क्रमिकरुपमा जनस्वास्थ्य प्रर्वधन केन्द्र खोल्नु जरुरी छ।'
नागरिकको संविधान प्रदत्त स्वास्थ्यसम्बन्धी अधिकारको केही हदसम्म भए पनि पूरा गर्न हालै सञ्चालन गरिएको उक्त केन्द्रले टेवा पुर्याउने जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले दाबी गरे।
रासस