काठमाडौं- अबदेखि नेपालमै प्रोफेसनल एन्ड लिंग्युस्टिक एसेसमेन्टस् बोर्ड (प्ल्याब) परीक्षा तयारी कक्षा सुरु भएको छ। बेलायतमा अध्ययन गरी चिकित्सा पेश गर्न चाहने चिकित्सकहरुले बेलायतमै गई प्ल्याब तयारी कक्षा लिनुपर्ने बाध्यता थियो।
एनक्लेक्स नेपालले बेलायतमा चिकित्सकका रुपमा दर्ता हुन उत्तिर्ण हुनुपर्ने प्ल्याब परिक्षाको तयारी कक्षा सुरु गरेको हो। एनक्लेक्स नेपालका प्रमुख सजना केसीले नेपालमै प्ल्याब कक्षा सुरु हुँदा बेलायतमै गएर उक्त कक्षा लिनुपर्ने बाध्यताको अन्त्य भएको बताइन्।
'हामीले दोस्रो चरणमा कक्षा सम्पन्न गरीसकेका छौं,' केसीले भनिन्, 'अब बेलायतमा गएर शुरुवाती अवस्थाबाट प्ल्याब कक्षा लिइरहनुपर्ने जरुरी छैन, जुन सेवा नेपालमै उपलब्ध भइसकेको छ।'
केहि वर्ष अघिसम्म बेलायत जान चाहने डाक्टरहरुको प्रमुख चिन्ता एमडी/एमएस तालिम गर्न मौका नपाइने पो हो कि भन्ने थियो। तर अक्टोबर २०१९ मा बेलायतले डाक्टरहरुलाई पेशागत खाँचोको सुचीमा समावेश गरे संगै विदेशी र बेलायतमै प्रशिक्षित डाक्टरहरुबीच विशेषज्ञ तालिमको अवसर समान हुने शुनिस्चित भएको छ। यस कारण गएका २ वर्षमा विशेषज्ञ तालिममा प्रवेश पाउने विदेशी डाक्टरहरुसंगै नेपाली डाक्टरहरुको सङ्ख्यामा वृद्धि भएको छ।
बेलायतमा चिकित्सकका रुपमा दर्ता हुन उत्तिर्ण गर्नुपर्ने परिक्षा प्ल्याबका दुई भाग छन्। पहिलो भाग, जसलाई प्ल्याब वान भनिन्छ र यसमा चिकित्सकहरुको बस्तुगत ज्ञान लिखित परिक्षा मार्फत मापन गरिन्छ। नेपालमा यो परीक्षा दिन नमिले पनि भारत, बंगलादेश, पाकिस्तान लगायत विश्वका २३ स्थानमा गएर सजिलै दिन सकिन्छ। त्यस्तै प्लायब परिक्षाको दोस्रो भागलाई प्ल्याब टु भनिन्छ र यस परीक्षामा डाक्टरहरुको प्रयोगत्मक सिप मुल्याङ्कन गरिन्छ । यो परीक्षा बेलायतमा मात्र हुन्छ र नेपाली डाक्टरलाई यसको तयारी गर्न पनि बेलायतनै जानपर्ने बाध्यता थियो।
आफ्नो अनुभव बताउँदै एनक्लेक्स नेपालकी प्ल्याब विभाग प्रमुख तथा जिएमसी रजिष्टरर्ड डाक्टर कन्चन घिमिरे भन्छिन 'प्ल्याब–२ तयारी गर्न बेलायत नै जानुपर्ने बाध्यता र त्यस संग जोडिएर आउने खर्च तथा कठिनाईले धेरै नेपाली डाक्टरहरुलाई हतोत्साही बनाउथ्यो। यसका साथै अरु देशबाट आएका डाक्टरहरुले बेलायत आउनु अगावै आफ्नै देशमा पुर्व तयारी गरेर आउने हुँदा तुलनात्मक रुपमा उनिहरुलाई यो परीक्षा सहज हुन्थ्यो र हामी कम तयारी भएको महशुस गर्दथ्यौँ।'
नेपाली विद्यार्थीको यही बाध्यता र असुविधालाई चिर्न आफूले एनक्लेक्स नेपालसंग यो सहकार्य शुरु गरेको डा घिमिरेले जानकारी दिइन्।