बागलुङ- स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य गर्नेलाई पुरस्कृत र सम्मान गर्ने उद्देश्यले बागलुङमा स्थापना भएको डा तरुण पौडेल चिकित्सा पुरस्कार तथा सम्मान यस वर्ष चार छुट्टाछुट्टै व्यक्तिलाई प्रदान गरिएको छ।
जिल्लाको जैमिनी नगरपालिका–८ मा जन्मिएर लामो समयदेखी स्वास्थ्य क्षेत्रमा क्रियाशील डा तरुण पौडेलद्वारा स्थापना गरिएको उक्त पुरस्कार तथा सम्मान तीन स्वास्थ्यकर्मी र एक समाजसेवीलाई प्रदान गरिएको छ।
चिकित्सा कोषले बुधबार एक कार्यक्रमको आयोजना गरी पुरस्कार तथा सम्मान प्रदान गरेको छ। कोषबाट मेडिकलतर्फ धौलागिरि अस्पताल बागलुङमा पूर्व कार्यरत डा प्रदीप श्रेष्ठ, नर्सिङतर्फ स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत मनदेवी गौतम र प्यारामेडिकलतर्फ धौलागिरि अस्पतालमा कार्यरत रेडियोग्राफर खड्कवीर थापालाई पुरस्कृत गरिएको हो।
यस्तै, डा तरुण पौडेल चिकित्सा सम्मानबाट धौलागिरि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानालाई सम्मान गरिएको छ। रानालाई कोरोनाले निम्त्याएको असहज परिस्थीतिमा प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको कोषका अध्यक्ष काजि रोशनले जानकारी दिए। पुरस्कृत र सम्मानित सबैलाई जनही १५/१५ हजार नगदसहित सम्मान गरिएको छ।
१६ वर्षसम्म धौलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट र राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशक समेत भएका डा पौडेलले स्वास्थ्यकर्मीलाई कार्य क्षेत्रमा थप प्रोत्साहित गर्ने अभिप्रायले स्थापना गरेको कोषबाट हरेक वर्ष पुरस्कार तथा सम्मान गरिँदै आएको छ। डा पौडेलले २०७० मा कोषको स्थापना गरेका थिए। यस कोषबाट हालसम्म ३० जना स्वास्थ्यकर्मी सम्मानित भइसकेका छन्। कोषबाट हरेक वर्ष स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने स्वास्थ्यकर्मीलाई सम्मान गर्दै आएको पौडेलले बताए।