काठमाडौं- ४३ करोडभन्दा बढी रकममा अस्तपाल भवन बनाएकोलगायतका काजगात कीर्ते गरेको आरोपमा भ्याली कन्स्ट्रक्सनका सञ्चालक पक्राउ परेका छन्। अस्तपाल भवन बनाउने ठेक्का हात पार्नका लागि कागजात कीर्ते गरेको आरोपमा कन्स्ट्रक्सनका सञ्चालक रवीन्द्र महर्जनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पक्राउ गरेको हो।
सिआइबीले गरेको अनुसन्धानको क्रममा हुँदै नभएको भवनको निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको नक्कली कागजात महर्जनले कीर्ते गरेको पाइएको थियो। विभिन्न ६ प्रकृतिका सरकारी कागजाता कीर्ते गरेको आरोपमा कन्ट्रक्सनका सञ्चालक महर्जनलाई बुधबार पक्राउ गरिएको सिआइबी प्रवक्ता एसपी गंगा पन्तले जानकारी दिइन्।
कन्सट्रक्सनले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको बौद्धदर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको लेटरप्याड कीर्ते गरी ४३ करोड ३७ लाख ५५ हजार ६०९ रुपैयाँको लागतमा भवन बनाएकोलगायतका कागजात कीर्ते गरेको सिआइबीको अनुसन्धानले देखाएको छ।
समितिको लेटरप्याड कीर्ते गरी चन्द्रनिगाहापुर–९ मा बहुतल्ले अस्पताल भवन, मेडिटेसन हल, क्लास रुम, कम्पाउन्ड वालसमेत २०७१ भदौ २४ गते निर्माण कार्य सुरु भई २०७३ भदौ ८ गते निर्माण सम्पन्न गरी संस्थालाई हस्तान्तरण गरिएको भनेर प्रमाणित गरिएको थियो। तर उक्त संरचना कहीँ पनि बनेका छैनन्। कीर्ते गरिएको प्रमाणपत्रमा संस्थाकी योजना अधिकृत गंगाकुमारी गुरुङ, शाखा अधिकृत दीर्घकुमारी गुरुङको हस्ताक्षर छ।
सिआइबीले कीर्ते गर्न प्रयोग भएका कम्युटर, सिपियू, ल्यापटप, गुम्बाको छाप, समितिको चलानी नम्बर, सहमतिपत्र-लगायतसमेत सिआइबीले बरामद गरकेो छ।
कन्ट्रक्सनका संस्थापक नुच्छे महर्जनबाट रवीन्द्रले २०६३ सालतिर उक्त कम्पनी किनेका थिए।