काठमाडाैं- नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले कोरोनाविरुद्धको खोप खरिदका विषयमा सरकारसँग जवाफ मागेका छन्। खोप खरिदमा १० प्रतिशत कमिसनको चलखेल भएको समाचार सार्वजनिक भएका भन्दै यस विषयमा सरकारले जवाफ दिनुपर्ने माग गरेका हुन्।
'भारतीय कम्पनीले नेपाललाई आवश्यक खोप समायमै उपलब्ध गराउन नसकेको तथा खरिदमा १० प्रतिशत कमिसनको खेल भइरहेको समाचार आएको छ। वीर अस्पतालमा क्यान्सर रोगको उपचार गर्न ल्याएको ४७ करोडको मेसिन प्रयोग नगरी घामपानीमा राखेर २७ करोडको अन्य सामग्री बिग्रेको छ भन्ने समाचार आएको छ', सुवालले भने, 'नेपाल सरकारले भारतको दबाबमा चीनबाट खोप नल्याएको भन्ने सुनिएको छ। यी सबै विषयमा सरकारले जनतालाई सत्यतथ्य जानकारी दिनुपर्छ।'
भारतबाट ल्याएको कोरोना विरुद्धको खोप लगाउँदा रगत जम्ने खतरा देखिएको भन्दै युरोपेली र एसियाली देशहरुमा खोपमा प्रतिबन्ध लगाएको उल्लेख गर्दै सुवालले यस विषयमा पनि प्रष्ट पार्नुपर्ने बताए।