काठमाडौं– भारतका विभिन्न प्रान्तहरुमा कोरोना संक्रमण बढ्न थालेपछि सरकारले भारतीय सिमा नाकाहरुमा उच्च सतर्कता अपनाउने तयारी गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै वटा प्रदेश, संघीय प्रादेशिक अस्पताल, स्वस्थ्य संस्थाहरु, सबै जिल्लास्थित स्वास्थ्य कार्यालय र सीमा नाकाका हेल्थ डेस्कहरुलाई उच्च सर्तकता अपनाउन निर्देशन दिएको हो।
स्वास्थ्य मन्त्रालयले भारतीय सिमा विन्दुका हेल्थ डेस्कहरुहरुलाई भारतबाट नेपाल प्रवेश गर्नेहरुको ज्वरो परीक्षण गर्न निर्देशन दिएको छ।
ज्वरो आएका यात्रुहरुको मलेरियाको र्यापिड डाइग्नोष्टि टेष्ट (आरडिटी) तथा सम्भव भएसम्म कोभिड–१९ को एन्टिजेन टेष्टको व्यवस्था मिलाउन निर्देशन दिएको हो।
यसरी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएकाहरुको उपचार व्यवस्थापन स्वस्थ्य संस्था र अस्पतालसँग समन्वय गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मलेरिया तथा कोभिड–१९ को व्यवस्थापन सम्बन्धि निर्देशिकाहरु बमोजिम गर्न पनि निर्देशन दिएको छ।
स्वास्थ्य मन्त्रालयले एन्टिजेन परीक्षणमा पोजेटिभ आएकाहरुलाई स्थानीय निकाय, अस्पताल, स्वास्थ्यसंस्था तथा प्रयोगशालाहरुले आवश्यक सहयोग, समन्वय र सहकार्य गर्न पनि सबै निकायलाई निर्देशन दिएको छ।
यस्तै क्वारेन्टिन आदेश, २०७७ बमोनिमको व्यवस्था लागु गर्न, सर्भिलेन्सलाई चुस्त बनाउ, केस इन्भेष्टिकेसन र कन्ट्याक ट्रेसिङलाई बढावा दिन, आवश्यक पिसिआर तथा एन्टिजेन टेष्टको सुनिश्चितता गर्न समेत निर्देशन दिएको छ।
स्वास्थ्य मन्त्रालयले सबै अस्पताल र स्वास्थ्य संस्थाहरु महामारी व्यवस्थापनका लागि आवश्यक तयारी अवस्थामा रहन समेत निर्देशन दिएको छ।
यस्तै सबै पालिकाहरुलाई आफ्नो पालिकाहरुमा संक्रमणको उच्च खोजिम क्षेत्र पहिचान गरि समुदायस्तरमा कोभिड–१९ को एन्टिजेन परीक्षण प्रक्रिया सम्बन्धी प्रोटोकल अनुसार व्यवस्थापन गर्न समेत भनिएको छ।
यसैगरी, सबै निकायहरुले जनस्वास्थ्यको मापदण्डहरुको कडाइका साथ पालना गराउनका लागि आवश्यक पहल तथा प्रचारप्रसार गर्न पनि भनिएको छ।