ललितपुर - नेपाल मेडिसिटी अस्पताल र अखिल नेपाल फुटबल संघ (एन्फा)बीच आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिृपक्षिय सम्झौता भएको छ।
खेलाडीहरुको स्वास्थ्यलाई ध्यानमा राखी दक्ष चिकित्सक, फिजियोथेरापिष्ट र उच्चस्तरीय उपकरण सहितको स्पोर्टस् मेडिसिन सेवा प्रदान गर्न नेपाल मेडिसिटी अस्पतालले नेपाली फुटबलको नियामक निकाय एन्फासंग सम्झौता गरेको हो।
सम्झौता अनुसार मेडिसिटी अस्पतालले एन्फासंगको सहकार्यमा खेलाडीहरुको सुःस्वास्थ्य, तथा आरोग्यमा विशेष ध्यान पुर्याई उनीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलका लागि अब्बल बनाउने अभियानमा अस्पतालको स्पोर्टस् मेडिसिन विभागले सहयोग गर्नेछ। खेल कार्यक्रमहरुमा आकस्मिक तथा प्रारम्भिक स्वास्थ्य उपचारको सारथीका रुपमा अस्पतालले सक्रिय भूमिका निभाउनेछ। साथै, अस्पतालले खेलाडीहरुलाई उपचारका क्रममा क्यासलेस सेवा समेत प्रदान गर्नेछ।
सम्झौता पत्रमा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले हसताक्षर गरेका छन्।
सम्झौता कार्यक्रममा एन्फा महासचिव इन्द्रमान तुलाधर र नेपाल मेडिसिडी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट तथा वरिष्ठ हाडजार्नी विशेषज्ञ डा राज राणा, फिजियोथेरापीष्ट जयराम महर्जन, मार्केटिङ विभागका नविन बज्रचार्य उपस्थित थिए।
मेडिसिटीका महाप्रबन्धक रिमालले स्वदैशमै सम्पूर्ण उपचार उपलब्ध गराउने उद्धेश्य राखेको अस्पतालले राष्ट्रका गहना मानिने खेलाडिहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न पाएकोमा गौरवान्वित भएको प्रतिक्रिया दिए।