काठमाडाैं- मिर्गौला पीडित एक बिरामीलाई दक्षिण कोरियाबाट संकलन गरिएको सहयोग रकम हस्तान्तरण गरिएको छ। स्याङ्जा वालिङ–६ की २७ वर्षीय मिर्गौला पीडित हिमा भुसाल अर्याललाई सहयोग रकम हस्तान्तण गरिएको हो।
दुई वर्ष अघिदेखि मिर्गाैलामा समस्या देखिएको उनको नियमित डायलासिस भइरहेको छ। आर्थिक अवस्था कमजोर रहेकी उनको उपचारमा सहयोग पुर्याउन रोजगारीका लागि कोरियामा रहेका युवाहरुले आर्थिक संकलन गरेका थिए।
कोरियामा रहेका देवीलाल तिवारीको पहलमा संकलन भएको एक लाख ६० रुपैयाँ वालिङ १४ का भेषराज पाण्डेयले बिरामी हिमालाई भेटेर हस्तान्तरण गरेका हुन्।
उनको उपचारका लागि हालसम्म १४ लाख रुपैयाँ खर्च भइसकेको हिमाको माइती परिवारले जानकारी गराएका छन्। मिर्गौला पीडित हिमाका ५ वर्ष छोरा छन्। उनका पति कृष्णप्रसाद अर्यालले उपचारमा चासो नलिएपछि माइतीको सहयोगमा उनले डायलासिस गराइरहेकी छन्।
मिर्गौला प्रत्यारोपणका लागि आमाको मिर्गौला दिन मिल्ने भएको छ। तर, त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्न धेरै समयसम्म प्रतीक्षा गर्न परेको बताइएको छ।
प्रत्यारोपणका लागि २० लाख रुपैयाँ भन्दा बढी लाग्ने अस्पतालले परिवारलाई जानकारी गराएको छ। डायालासिस नि:शुल्क भएपनि सातामा ६ हजार भन्दा बढी रुपैयाँको औषधि खर्च लाग्ने गरेको परिवारले जनाएको छ।