काठमाडौं - औषधि व्यवस्था विभागले कोभिड १९ विरुद्धको खोप आयातका लागि आवेदन दिन एक साताको समय थप गरेको छ। यसअघि चैत २ गते विभागले निजी क्षेत्रलाई खोप आयातका लागि बाटो खुला गरेको थियो।
उक्त अवधिमा हालसम्म कुनै पनि रितपूर्वक आवेदन प्राप्त नभएको भन्दै विभागले एक सूचना जारी सात दिनको अवधि थप गरेको हो।
सूचनामा भनिएको छ, ‘कोभिड १९ खोपको आपतकालीन प्रयोग र आयात अनुमति प्रदान गर्ने सम्बन्धमा यस विभागबाट मिति २०७७/१२/२ गतेमा प्रकाशित सार्वजनिक सूचनाको हकमा आजका दिनसम्म कुनै पनि रितपूर्वक आवेदन प्राप्त नभएको देखिएकाले थप सात दिनको अवधि कायम हुने गरी पुनः यो सूचना प्रकाशित गरिएको छ।’
कोभिड-१९ विरुद्धको खोप अभियानलाई सफल पार्न तथा खोपको आपूर्तिमा सहजता कायम गर्नका लागि भन्दै विभागले निजी क्षेत्रलाई खोप आयातका लागि बाटो खुला गरेको थियो।
इच्छुक उत्पादक कम्पनी/आधिकारिक आयातकर्ता वा उत्पादकले तोकेको आधिकारिक बिक्रेतलाहरुलाई आवश्यक कागजात सहित सात दिन भित्र निवेदन पेश गर्न विभागले चैत २ गते पहिलो पटक सूचना जारी गरेको थियो।
विभागले इयुए प्रदान गरेको वा विश्व स्वास्थ्य संगठनले इमरजेन्सी युजिङ्ग लिस्टिङ प्रदान गरेका खोपहरु आयात गर्न इच्छुकले औषधि वा खोपको आपतकालीन प्रयोग सम्बन्धी संहिता २०७७ मा तोकिएका कागजात सहित निवेदन दिनुपर्ने विभागले जनाएको छ।
