ललितपुर - मुटुको विशिष्ट उपचार नेपाल मेडिसिटी अस्पतालले विराटनगरमा उपलब्ध गराउने भएको छ।
आगामी बैशाख १ गते देखि इन्टरभेन्सन् कार्डियोलोजी लगायत मुटुको अधिकांश विशिष्ट उपचार नेपाल मेडिसिटी अस्पतालले विराट मेडिकल कलेज टंकी सिनुवरी, विराटनगरबाट शुरु गर्ने भएको छ।
एन्जियोग्राफि, एन्जियोप्लाष्टि लगायत क्याथल्याब मार्पmत गरीने इन्टर्भेन्सनल कार्डियोलोजी सेवाले विराटनगर लगायत पूर्वाञ्चल भरीकै जनताहरुलाई आकस्मिक मुटुरोग उपचारमा सहजता प्राप्त हुने विश्वास लिइएको छ।
ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल र विराटनगरस्थित विराट मेडिकल कलेजले सोमबार एक सम्झौता गरेसँगै नेपाल मेडिसिटीका मुटुरोग विशेषज्ञहरुले विराटनगरमा सेवा बिस्तार गर्ने भएका छन्।
नेपाल मेडिसिटी अस्पतालका कर्पोरेट विकास प्रमुख पंकज बाँस्कोटा तथा विराट मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत तथा उपाध्यक्ष डेनिस कार्कीले सम्झाता पत्रमा हस्ताक्षर गरेका हुन्।
विराट मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत तथा उपाध्यक्ष डेनिस कार्कीका अनुसार यस सम्झौता पश्चात विराट मेडिकल कलेजको मुटरोग विभागको सञ्चालन नेपाल मेडिसिटी अस्पतालका चिकित्सकहरुले गर्नेछन् र यस संयुक्त प्रयासले विराटनगरका जनता लाभान्वित हुनेछन्। साथै, विराट मेडिकल कलेजका स्वास्थ्यकर्मीहरुले नेपाल मेडिसिटी अस्पतालमा मुटुरोग सम्बन्धि तालीम लिई सीप अभिवृद्धि गर्नेछन्।