डडेल्धुरा- डडेल्धुराको आलिताल गाउँपालिका-५ लाई पूर्ण खोप वडा घोषणा गरिएको छ।
मंगलबार (हिजाे) वडामा रहेका १६ देखि २३ महिना मुनिका ३४ बालबालिकाहरूलाई वडाका महिला स्वास्थय स्वयम् सेविकाहरूको सहयोगमा अनमी र अहेबहरूले घरघरमै पुगि पूर्ण खोप लगाइसकेपछि वडालाई पूर्ण खोप वडा घोषणा गरिएको आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरूङले बताए।
गाउँपालिका अध्यक्ष गुरूङ र प्रमुख प्रशासकिय अधिकृत भोजबहादुर ऐडीले व्यानर घोषणा पत्र पढेर पूर्ण खोप घोषणा गरेका थिए।
खोपको बारेमा विषेशगरी १६ देखि २३ महिना भित्रको बालबालिकाहरूले पूर्ण खोप पाएनन भने विभिन्न किसिमको रोग लाग्ने भएको हुँदा आमाहरू पीडीत नै हुने गरेकोले महिलाहरूले यस तर्फ चनाखो हुन जरूरी रहेको अध्यक्ष गुरूङले बताए।
आलिताल गाउँपालिकालाई चैत्र महिना भित्र पूर्ण खोप घोषणा गरिने गाउँपालिका स्वास्थ्य संयोजक धनबहादुर क्षेत्रीले बताए।
यस अघि गाउँपालिकाको वडा नम्बर ७ लाई पूर्ण खोप वडा घोषणा गरिसकिएको छ। पूर्ण खोप घोषणा गराउनमा सहयोग गर्ने ९ जना आमा समूहका पदाधिकारी महिला स्वास्थ्य स्वयमसेविकाहरू र स्वास्थ्यकर्मीहरूलाई सम्मानित गरिएको थियो।