करिव नब्बे बर्ष पुग्न लाग्नुभएकी हजुरआमा क्षयरोगबाट पीडित भएर निको हुनु भएको दशक लागिसक्यो। क्षयरोगको संका लाग्ने बित्तिकै सिघ्र निदान, पूर्ण उपचार, उपयुक्त पौष्टिक आहार, सरसफाई, पारिवारिक माया र स्नेहले अहिले निको हुनु भएको छ। भेट हुँदा नाति आयो भनेर काखतिर तान्दै सुम्सुम्याउनु हुन्छ। म्वाई खानु हुन्छ नाति भन्दै गाला छुँदै बस भन्नु हुन्छ, अनि मेरो मन प्रफुल्लित हुन्छ। आँखा रसाएर आउछ, खुट्टामा ठोग गर्दै हजुर आमाको स्नेहमा बाँधिन्छु। एक समय थियो क्षयरोग भन्ने बित्तिकै हामी डराउथ्यौँ। तर अब डराउने होइन रोगसंग लड्नको लागी हाम्रो बानी व्यवहार परिवर्तन र उपचार गर्नु आवश्यक छ।
सचेतना र बानी व्यवहार परिवर्तन गराउने उद्देश्यले क्षयरोग दिवस मनाइन्छ। यस बर्ष ‘संकेत समयको, क्षयरोग अन्त्यको’ (द क्लक इज टिकिङ) भन्ने नाराको साथ विश्व क्षयरोग दिवस मनाइँदै छ। क्षयरोग अर्थात् ट्युबरक्लोसिस ब्याक्टेरियाको कारणले हुने सरुवा रोग हो। क्षयरोगलाई रोकथाम तथा उपचार गर्न सकिने भएपनि यो रोग प्रमुख जनस्वस्थ्य समस्याहरु मध्ये एक जल्दो बल्दो समस्या हो। क्षयरोग लागेको व्यक्तिले खोक्दा, हाछियु गर्दा, थुक्दा यसका जीवाणुहरु निस्कन्छन् र हावाको माध्यमबाट अरु निरोगी व्यक्तिहरुमा समेत सर्ने गर्दछन््। क्षयरोगका जिवाणुले शरीरको फोक्सोमा बढि असर गर्दछ तर जिवाणुले शरिरका अन्य अंगमा पनि असर गर्न सक्दछ। यो रोग लाग्दा लामो समयसम्म खोकी लाग्ने, खकारमा रगतको मात्रा देखा पर्ने, ज्वरो आउने, राति पसिना आउनुको साथै व्यक्तिको तौल पनि कम हुदै जाने लक्षण देखा पर्दछ। यि लक्षणहरु देखा पर्ना साथ तुरुन्त नजिकको अस्पतालमा गई रोगको निदान र पूर्ण उपचार गराउनु पर्दछ।
स्वास्थ्य मन्त्रालयको वार्षिक प्रतिवेदन २०७५÷०७६ अनुसार नेपालमा हरेक वर्ष ४२ हजार नयाँ क्षयरोगका बिरामी हुने गरेको तथ्याङ्क छ। विश्व स्वास्थ्य संगठन ग्लोवल टिबी रिपोर्ट २०१८ का अनुसार क्षयरोग मृत्युदर २३ प्रति लाख रहेको पाइएको छ। यो मृत्युदरमा एचआइभी सहितको टिबीलाई समावेश गरिएको छैन। विश्व स्वास्थ्य संगठनले सन् २०१९ मा एक करोड बिरामी र चौध लाख जना टिबीबाट मृत्यु भएको तथ्य सार्वजानिक गरेको छ।
क्षयरोगले पार्ने आर्थिक, सामाजिक समस्यालाई निर्मुल पार्न नेपाल सरकार स्यास्थ्य मन्त्रालयले क्षयरोग मुक्त नेपालको परिकल्पना गरेको छ। यसको लागि सन् २०१५ मा देखिएको नयाँ बिरामीको दरलाई सन् २०२१ मा २० प्रतिशतले कम गर्ने उदेश्य राखेको छ। विश्वबाट क्षयरोग समाप्त पार्न नयाँ बिरामी दर र मृत्यु दरलाई शुन्यमा झार्ने लक्ष्य राखेको छ। सन् २०३५ सम्ममा ९५ प्रतिशत मृत्यु र ९० प्रतिशत नयाँ बिरामी कम गर्ने लक्ष्य राखेको छ।
टिबीबाट बच्नको लागि एक मात्र खोप बिसिजी हो। यो जन्मिने बित्तिकै बच्चालाई लागाउनु पर्दछ। स्वास्थ्य मन्त्रालयको वार्षिक प्रतिबेदन २०७५÷२०७६ अनुसार बिसिजी खोप लगाउने बच्चाहरुको संङ्ख्या ९१ प्रतिशत छ। सबैभन्दा बढी बिसिजी कोभरेज भएको जिल्ला रुपन्देही हो भने सबैभन्दा कम कोभरेज भएको जिल्ला मनाङ हो। बिसिजी खोप लगाउँदा ६० प्रतिशतसम्म क्षयरोग लाग्ने सम्भावनालाई कम गरिदिन्छ।
क्षयरोग एक सरुवा रोग भएकोले यसबाट रोगको रोकथाम गरे सजिलैसंग बच्न सकिन्छ। बच्ने उपाए अपनाउदा अपनाउदै पनि रोगको शंका लाग्ना साथ नजिकको अस्पतालमा गई रोगको निदान गरि पूर्ण उपचार गरे योे रोग पूर्ण रुपमा निको हुन्छ। यो रोगबाट बच्नका लागी निम्न उपायहरु अपनाउन सकिन्छ।
१. बच्चालाई अनिवार्य रुपमा बिसिजी खोप लागाउने। यसका लागि नेपाल सरकार, स्वास्थ्यकर्मी र आम जनताहरु सबैले आफ्नो जिम्मेवाारी पूर्ण रुपमा पालना गर्ने।
२. धेरै भिड–भाड हुने ठाउँमा सकेसम्म नजाने, जानै परे विशेष सावधानी अपनाएर मात्र जाने।
३. पोषणयुक्त खाना नियमित रुपमा खाने। रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउने खानेकुराहरु खाने।
४. दैनिक रुपमा शारीरिक व्यायाम गर्ने।
५. बिरामीले जथाभाबी थुक÷खकार नाफाल्ने। निश्चित ठाउँमा फालिएको थुक खाकारलाई राम्ररी बिसर्जन गर्ने। नियमित रुपमा औषधी खानुको साथै हावा आवत–जावत हुने कोठाको प्रयोग गर्ने।
६. धुम्रपान मद्यपानको सेवन नगर्ने।
क्षयरोग रोकथाम र उपचार गर्न सकिने जनस्वस्थ्य समस्या भएकोले यस रोग लाई न्यूनीकरण गर्न हामी सबै एक भई बिसिजी कोभरेजलाई १०० प्रतिशत पुर्याई बानी व्यहोरा परिवर्तन, समयमा निदान र पूर्ण रुपमा उपचार गरे क्षयरोगबाट सजिलै बच्न सकिन्छ। क्षयरोगबाट वच्नको लागी उपचारात्मक सेवालाई जोड दिनु भन्दा रोगको रोकथाम मै ध्यान दिन सके आम जनताको स्वास्थ्यलाई जोगाउन सकिन्छ।
(चौधरी कोशी हेल्थ एण्ड साइन्स क्याम्पस, विराटनगरका प्राध्यापक हुन्।)