काठमाडौं- स्वास्थ्यका विभिन्न आयामहरुमा छलफल तथा विश्लेषण गर्ने उद्देश्य सहित आगामी चैत्र २४ गते ‘नेपाल स्वास्थ्य सम्मलेन २०२१’ हुने भएको छ।
नेपाल स्थित अमेरिकन राजदुतावासको युथ काउन्सिल र आरोग्यादाको संयुक्त आयोजनामा हुन लागेको बताइएको छ।
उक्त सम्मेलनमा स्वदेश तथा विदेशका स्वास्थ्य विशेषज्ञ तथा विश्लेषकहरुले नेपालको स्वास्थ्य क्षेत्रका कमकमजोरी, चुनौति र समाधानका उपायबारे छलफल हुनेछ।
सम्मेलनमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइलारा, नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की, जनस्वास्थ्य विज्ञ डा अरुण उप्रेति, कलाकार हरिवंश आचार्य लगायतले प्यानल डिस्कसनमा भाग लिने छन्।
नेपाल स्थित अमेरिकन राजदुतावासको युथ काउन्सिल सदस्य डा छवि पौडेलले स्वास्थ्य प्रणालीमा चलिरहेको बहसलाई थप प्रभावकारी बनाउन र राष्ट्रिय अन्तरराष्ट्रिउ परिप्रेक्षमा स्वास्थ्य प्रणालीको कमजोरी र हालसम्म हासिल गरेको प्रगतिबारे सम्बन्धित व्यक्ति र संस्थालाई एकैठाउँमा बोलाएर छलफल गर्ने उद्देश्य रहेको बताए।उनले यस प्रकारको स्वास्थ्य सम्मेलन नेपालमा पहिलो पटक आयोजना हुन लागेको दावि गरे।
नेपाल स्वास्थ्य सम्मेलन २०२१ को मूल विषयवस्तु ‘आरोग्यादाः स्वस्थ जीवनका लागि सबैको साथ’ रहेको डा पौडेलले बताए।
उक्त सम्मेलनमा भाग लिन चाहने व्यक्तिहरुका लागि रजिष्ट्रेसन समेत आह्वान गरिएको छ। त्यसका लागि इच्छुक व्यक्तिले http://nepalhealthconclave.com/ मा लगइन गरी रजिष्ट्रेसन गर्न सकिने बताइएको छ।