काठमाडौं- चितवन मेडिकल कलेजमा पनि कलेजो प्रत्यारोपण सेवा सुरु भएको छ। भरतपुर महानगरपालिका-१० स्थायी घर भएकी धनकुमारी लामामा कलेजो प्रत्यारोपण गरिएको हो। ५४ वर्षीया लामालाई उनकी ३४ वर्षीया छोरी उषा तामाङले कलेजो दिएकी हुन्।
काठमाडौं उपत्यकाबाहिर पहिलो पटक कलेजो प्रत्यारोपण सेवा सुरु भएको हो। मेडिकल कलेजका अनुसार भारतको नयाँदिल्लीस्थित एपोला अस्पतालका डा निरभ गोयलको प्राविधिक सहयोगमा प्रत्यारोपण सेवा सुरु भएको हो।
प्रत्यरोपण गर्ने टोलीमा डा सञ्जय यादव, डा एकानन्द सिंह, डा प्रविण जोशी, डा जयन्त कुमार साह, डा अभिषेक भट्टराई लगायत थिए। प्रत्यारोपण गर्न झन्डै १२ घन्टा लामो शल्यक्रिया गर्नुपरेको थियो। प्रत्यारोपण टोलीमा एनेस्थेसिया तर्फ डा किरण अधिकारी, डा सुरेश गौतम डा नविन यादव थिए। यस्तै हेपाटोलोजिष्ट डा सागर पौडेल, डा.बरुण श्रेष्ठ, रेडियोलोजिष्ट डा विज्ञान पौडेल, स्टाफ नर्स अन्जु थापा, श्रृती यादव, सलिना तिवारी, सूमि कार्की अस्मिता थापा, पष्पा थापा मगर बायोमेडिकल इन्जिनियर प्रकास खतिवडा लगायतको टोली थियो।
काठमाडौं उपत्यकामा त्रिवि शिक्षण अस्पताल र मानव अंग प्रत्यारोपणक केन्द्रमा कलेजो प्रत्यारोपण सेवा हुँदै आइरहेको छ।
धनकुमारीको क्रोनिक लिभर डिजिज रोगको कारण प्रत्यारोपण गर्नुपर्ने अवस्थामा पुगेको हो। प्रत्यारोपणपछि दुवैको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ।
अस्पतालले आज पत्रकार सम्मेलन गरी कलेजो ग्रहण गर्ने आमा र कलेजो दान गर्ने छोरी दुबैको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको बताएको छ।
अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले कलेजो प्रत्यारोपण सेवालाई निरन्तरता दिने बताए।

