प्युठान- विश्व क्षयरोग दिवसको अवसर पारेर जिल्लाभर विभिन्न सचेतना अभियान सञ्चालन गरिएको छ।
जिल्लामा स्वास्थ्य कार्यालय तथा स्थानीय तहहरुले आ–आफ्नो नेतृत्व गर्दै ‘सङ्केत अबको, क्षयरोग अन्त्यको’ भन्ने नाराका साथ विश्व क्षयरोग दिवस बुधबार मनाए। सन् १८८२ मा क्षयरोगको किटाणु पत्ता लागेपछि विश्वभर मनाउन थालिएको दिवस नेपालमा पनि मनाइन्छ। हाल संघीयता पछिको संरचना बमोजिम नेपालभर हरेक तहले आ–आफ्नै शैलीमा मनाउदै आएका छन।
स्वास्थ्य कार्यालय प्युठानको आयोजनामा यो वर्ष स्वर्गद्वारी आश्रममा आश्रमका पुजारी, गुरुहरु र स्वर्गद्वारी बाल तपस्वी बेद विद्यालयका विद्यार्थी÷वटुकहरु तथा आश्रमका अन्य कर्मचारीहरु राखी क्षयरोग नियन्त्रण तथा रोकथाम सम्बन्धी बिभिन्न सचेतना तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरि मनाइएको छ।
स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदी, जिल्ला क्षयरोग कार्यक्रम फोकल पर्सन मधुसुधन खड्का, स्वर्गद्वारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दल बहादुर के.सी, विराट नेपाल मेडिकल ट्रस्टका जिल्ला संयोजक गोविन्द माझी लगाएतले सहजीकरण गरेको कार्यक्रममा आश्रमका पुजारी, गुरुहरु तथा वेदका विद्यार्थीहरु गरि करिब १२० जनाको उपस्थिति रहेको थियो।
स्वर्गद्वारी धाममा वर्षेनी लाखौ तिर्थालु भक्तजनहरुले दर्शन गर्ने, नियमित जिल्ला तथा देश बाहिरबाट समेत उल्लेख्य पर्यटकको आगमन हुने हुँदा भिडभाडका कारण क्षयरोग र अन्य संक्रामक रोगको जोखिम उच्च रहेकाले यस्ता स्थानमा राज्यले विशेष निगरानी राखी कार्यक्रम राखिनु पर्ने स्वास्थ्य कार्यालयका प्रमुख सुबेदीको भनाइ छ। प्रमुख सुवेदीले भने –‘सुरुमा सचेतना गर्दै अभियानकै रुपमा थालनी गर्न लागिएको क्षयरोग अन्त्य गर्ने कार्यक्रममा संकास्पद क्षयरोगीहरुको खकार नमुना संकलन गरि प्रयोगशालासम्म पठाउने, उपचार पुरा गराउने तथा बिरामी तथा परिवारका सदस्यहरुको फलो–अप गरि बिरामीको स्वास्थ्य स्थिति लेखाजोखा गर्ने काम स्थानीय स्वास्थ्य चौकीले गर्ने छ।’
कार्यक्रममा अन्य जनस्वास्थ्य प्राथमिकताका कार्यक्रमहरुको परामर्श र प्रबर्धन समेत गरिएको थियो।
विराट नेपाल मेडिकल ट्रस्टका कार्यक्रम संयोजक माझीले संकास्पद क्षयरोगीको गुणस्तरीय खकार नमुना कसरी संकलन गर्न सकिन्छ भन्ने बारे नाटकीय नमुना समेत सहभागी माझ प्रस्तुत गरेका थिए।
आश्रमका ब्यवस्थापक मध्येका एक गुरु बासु भट्टराईले क्षयरोग नियन्त्रण लगाएत अन्य संक्रामक रोग र जनस्वास्थ्य आपतकालीनका बिषयमा जान्न र सुन्न पाउँदा आफुहरु अत्यन्तै हौसिएको भन्दै र भोलिका दिनहरुमा पनि आश्रम केन्द्रित विविध जनस्वास्थ्यका गतिबिधिहरु संचालन गर्न स्वास्थ्य कार्यालयलाई अनुरोध गरे।
स्थानीय स्वर्गद्वारी स्वास्थ्य चौकीले आश्रम केन्द्रित गुणस्तरीय स्वास्थ्य सेवा निरन्तर दिदै आएको स्वास्थ्य चौकी प्रमुख दुर्गा चयडाले जानकारी दिइन्।
प्युठान जिल्लामा आर्थिक वर्ष २०७६/७७ मा ३०१ जना क्षयरोगीहरु स्थानीय डट्स उपचार केन्द्रमा उपचाररत थिए। चालु आर्थिक बर्षमा पनि स्थानीय तह र सहयोगी बाह्य संस्थाको सहयोगमा सक्रिय घरदैलो अभियान सञ्चालन गर्दै लुकेर बसेका, छुटेका र उपचारको दायरामा आउन नसकेका क्षयरोगी खोज्ने अभियान स्वास्थ्य कार्यालय प्युठानको रहेको छ।