काठमाडाैं- नेपाल नेत्रज्योति संघले आगामी पाँच वर्षभित्र ६७७ स्थानमा आँखा उपचार केन्द्र स्थापना गर्ने भएको छ। संघले सरकारसँगको साझेदारीमा उपचार केन्द्र स्थापना गर्न लागेको हो।
नेत्रज्योति दिवसको अवसरमा शुक्रबार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा संघका महासचिव भरतबहादुर चन्दले सबै स्थानीय तहमा रहेका आँखा उपचार केन्द्रहरुलाई आधारभूत स्वास्थ्य सेवामा एकीकृत गर्ने र आगामी पाँच वर्षभित्र ६७७ वटा आँखा उपचार केन्द्र स्थापना गर्ने बताए। यस्तै, हाल सञ्चालनमा रहेका २२ वटा आँखा उपचार केन्द्रलाई सेकेन्डरी लेभलको आँखा अस्पतालमा स्तरोन्नति गर्ने पनि उनले बताए।
मोतिविन्दुको अलावा दृष्टिदोष, बाल दृष्टिविहीनता, जलविन्दु, कोर्नियल अल्सर, डाइबेटिक रेटिनोपेथी, न्यूनदृष्टि, पूनर्स्थापकीय सेवासम्बन्धी राष्ट्रिय कार्यक्रमहरु सञ्चालन गरिने पनि महासचिव चन्दले बताए। यस्तै इ-हेल्थलाई संस्थागत गर्दै पाँच वर्षभित्र आँखा सेवामा मोबाइल हेल्थका आधुनिक प्रविधिको विकास, विस्तार र नियमन गरिने उनले जानकारी दिए।
संघले यस वर्ष 'अन्धोपन निवारण हाम्रो जिम्मेवारी, आँखा सेवामा गरौं साझेदारी' भन्ने नाराका साथमा नेत्रज्योति दिवस मनाएको छ। संघको अन्धोपन निवारणमा योगदान दिने गण्डकी प्रदेश सरकार, तुलसीपुर उपमहानगरपालिका दाङ, समाजसेवी श्रीजङ्ग शाह, अर्विस इन्टरनेसनल, विराटनगर आँखा अस्पताल, भरतपुर आँखा अस्पताललाई सम्मान गर्ने निर्णय गरेको छ।
कोभिड-१९ संक्रमणका कारण अहिले नै सम्मान गर्न नसकेको भन्दै अनुकूल समयमा सम्मान गरिने संघले जानकारी दिएको छ। २०३५ सालमा स्थापना भएको संघले हालसम्म २१ वटा आँखा अस्पताल, १२६ वटा आँखा उपचार केन्द्र र ४२ वटा जिल्ला शाखाको माध्यमबाट देशका विभिन्न स्थानमा आँखा उपचार सेवा पुर्याउँदै आएको छ।