सप्तरी- शिशु बालिकालाई जचाउन गएकी २५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा शुक्रबार प्रहरीले एक डाक्टरलाई पक्राउ गरेको छ।
उपचारका बहानामा यौन दुर्व्यवहार गरेको आरोपमा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत एक डाक्टरलाई (अनुसन्धानकै क्रममा रहेकाले नाम प्रकाशित नगरिएको) पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए।
उनका अनुसार सोही अस्पतालमा बुधबार जन्मिएकी नन्दकी छोरीलाई उपचार गराउन पुगेकी महिलासँग अस्पतालकै क्याबिनमा यौनजन्य दुर्व्यवहार गरेको आरोपमा ती डाक्टरलाई पक्राउ गरिएको हो। अस्पतालले समेत तत्कालै ती डाक्टरलाई निलम्बन गरेको अस्पताल प्रशासक राजेश झाले एक विज्ञप्ति जारी गरी जानकारी दिएका छन्।
डिस्चार्ज भएर घर जाने बेलामा आवश्यक सल्लाहका लागि शिशुसहित एकपटक भेट्नु भनेर ती डाक्टरले भनेअनुसार पुगेकी महिलाले बालिका जाँच्ने बहानामा आफ्नो पेट सुम्सुम्याएको, संवेदनशील अङ्ग छुनुका साथै चलाएको र अन्तमा ब्लाउजको टाँक नै खोलेर अश्लील क्रियाकलाप गर्न लागेपछि प्रतिकार गरेको बताइन्।
डिस्चार्ज भइसकेको अवस्थामा पुर्जामा पुनः केही औषधि लेखेर ती डाक्टरले पीडितका पतिलाई औषधि पसल पठाएर क्याबिनभित्र अश्लील क्रियाकलाप गरेपछि प्रतिकार गर्दा बिरामीका कुरुवा र स्वास्थ्यकर्मी जम्मा भएको पीडितले बताइन्। ती डाक्टरले भने आफूले शिशु बालिकालाई आमाले स्तनपान गराउने तरिका सिकाउन खोजेको बताए।
पीडितले शुक्रबार नै जिल्ला प्रहरी कार्यालयमा बलात्कार प्रयासको उजुरी दिएकी छिन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक धमलाले आरोपितलाई हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको बताए। रासस