काठमाडौं- सरकारले रिक्त रहेको तीनवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्ती गर्ने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीको संयोजकत्वमा रहेको उपकुलपति सिफारिस समितले पाटन, पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तीका लागि तीन/तीन जनाको नाम प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइसकेको छ।
समितिले सिफारिस गरेका नाममध्येबाट प्रधानमन्त्री ओलीले तीन वटै प्रतिष्ठानमा छिट्टै उपकुलपति नियुक्ती गर्ने बुझिएको छ। प्रधानमन्त्री निकट स्रोतका अनुसार समितिले कर्णालीमा डा मंगल रावल, डा पुजन रोकाय र डा रेशम रानाको नाम सिफारिस गरेको छ।
यस्तै, पाटनमा डा राजेशनाथ गंगोल, डा डिबी कार्की र डा अनिल मिश्रको नाम सिफारिस भएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो। स्रोतका अनुसार पोखरामा डा डुकबहादुर क्षेत्री, ध्रुब बहादुर अधिकारी र डा श्रीकृष्ण श्रेष्ठको नाम सिफारिसमा परेको छ।
प्रधानमन्त्री ओलीले सिफारिसमा परेका यी तीनमध्ये एक/एक जनालाई उपकुलपति नियुक्त गर्नेछन्।
उपकुलपतिका लागि पाटन र पोखरामा १२/१२ जनाको आवेदन परेको थियो भने कर्णालीमा २१ जनाको आवेदन परेको थियो। आवेदन दिएकामध्ये समितिले कर्णालीमा १३, पोखरामा ९ र पाटनमा ९ जनाको सूची निकालेको थियो। जसमध्ये कार्यपत्र पेस गरेका आधारमा समितिले तीन/तीन जनाको नाम सिफारिस गरेको हो।
समितिले फागुन २४ गते सूचना सार्वजनिक गर्दै उपकुलपतिका लागि आवेदन माग गरेको थियो।