लन्डन- बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले सबै सर्वसाधारण नागरिकलाई स्वास्थ्यका सुरक्षित मापदण्ड अपनाउन अपिल गरेका छन्। बेलायतमा पुनः खेलकूद र बाहिर हिँडडूलका कामहरु शुरु भएका छन्। यस्तो अवस्थामा बेलायत फेरि पनि महामारीको संक्रमण बढ्दै गएकोले यसो नगर्न भनी आग्रह गरेका छन्।
बेलायतमा छ जनासम्म मानिस बाहिर जम्मा भएर हिँडडूल गर्न, आफ्ना घर तथा सार्वजनिक पार्कहरुमा पनि सानो संख्याका मानिस जम्मा हुन र साना तिना खेलकुदहरु गर्न दिने विषयमा बेलायतमा कुराकानी भइरहेको अवस्थामा यस्तो नगर्न भनिएको हो।
प्रधानमन्त्री जोन्सनले अहिले पनि देशमा महामारीको निकै नै अप्ठेरो अवस्था छ भन्ने कुरा सबै नागरिकले मनन गर्नुपर्ने नै बेला रहेको पनि बताएका छन्।
बेलायतमा जनवरीको पहिलो हप्तादेखि लगाइएको कडाइको अवस्थामा सोमबार देखि केही खुकुलो गराइएको छ। योसँगै यहाँका नागरिकहरुले सबै नै खुला भएको महसुस गरेर हिँड्न र काम गर्न नहुने उनले बताएका छन्।
यहाँ मार्चको ८ तारिखदेखि विद्यालयहरु खुला गरिएको छ भने पहिले लगाइएको लकडाउनमा पनि हिजो सोमबारदेखि केही खुकुलो पारिएको छ। उनले यसअघि बेलायतमा घरमै बसौँ भन्ने नारा अघि सारिएकोमा अब भने आफ्नो समुदायमा बसौँ धेरै टाढा हिँडडूल नगरौँ भन्ने नारा अघि सारिएको बताए।
बेलायतमा सोमबारदेखि गरिएको व्यवस्थामा नागरिक घरबाट बाहिर निस्किन पाउने छन्। तर ठूलो संख्यामा जम्मा हुन र धेरै टाढाको यात्रा गर्न भने पाउने छैनन्। बेलायतमा अहिले पनि कोरोनाको नयाँ प्रजातिको भाइरसको प्रकोप धेरै देखिएको छ। यहाँ दैनिक संक्रमित हुने र मृत्यु हुने व्यक्ति घटेका छैनन्।
रासस