काठमाडौं- भेरी अस्पताल बाँकेमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भेरी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेमा ४५ जना व्यक्तिमध्ये १८ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
पछिल्लो समयमा भारतमा कोरोना संक्रमितको संख्या वृद्धि भएपछि भारतीय सीमाबाट भित्रिने व्यक्तिहरुमा संक्रमण पुष्टि हुने क्रम बढ्दो छ।
अस्पतालका अनुसार बाँकेका १३, बर्दिया, जाजरकोट, कैलाली, ललितपुर र सुर्खेतका एक/एक जना व्यक्तिमा कोरोना संक्रमण पृष्टि भएको हो।
बाँकेमा हालसम्म ५४ हजार ६ सय ४५ जना व्यक्तिको नमुना परीक्षण गरिसकिएको छ। जसमध्ये ५ हजार ५ सय १७ जनामा संक्रमण पुष्टि भएकोछ।
भेरी अस्पतालका निर्देशक डा प्रकाश थापाले व्यक्तिले आफुमा कोरोना भएको शंका लागेर परीक्षण गरिएकामध्ये १८ जनामा संक्रमण पुष्टि भएको बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय पुनः संक्रमण उकालो लाग्दै गएकोले जनस्वास्थ्यका मापदण्डहरु मास्कको प्रयोग, हातको सरसफाई र सामाजिक दुरी कायम राख्न अनुरोध गरेको छ।
मन्त्रालयले स्थलगत र हवाइ मार्गबाट नेपाल भित्रने व्यक्तिहरुको त्यहाँ व्यवस्था गरिएको हेल्थ डेक्समा कोरोना संक्रमण भएनभएको एन्टीजेन जाँच गरी संक्रमण पुष्टि भएमा १४ वटा अस्पताललाई उपचारका लागि सुचीकृत गरिएको छ।
नेपालको जमुनाह नाकाबाट नेपाल भित्रिने व्यक्ति संक्रमण पुष्टिल भए भेरी अस्पतालमा उपचारको व्यवस्था गरिएको छ।