काठमाडौं– सोसाइटी अफ मेडिकल स्टुडेन्ट्स नेपालले माइतीघरमा एक्लै आन्दोलनरत डा अजित मल्लिकको मागप्रति संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकोे ध्यानाकर्षण गराएको छ।
सोसाइटीका महासचिव निराजन यादव लगायतका मेडिकल विद्यार्थीहरुले बुधबार मन्त्री गणेशसिंह ठगुन्नालाई भेटेरै डा मल्लिकको माग पुरा गर्न आग्रह गर्दै ज्ञापन पत्र समेत बुझाएका छन्।
विद्यार्थीहरुले डा मल्लिकको माग सम्बोधन गर्न पत्र बुझाएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री ठगुन्नाले डा मल्लिकको समस्या समाधानको लागि आफूले पहल गर्ने आश्वासन दिएको सोसाइटीका महासचिव यादवले जानकारी दिए।
डा मल्लिक निजामती अस्पतालले आफूलाई कोरोना संक्रमितको उपचारमा खटाएपनि कोभिड–१९ जोखिम भत्ता उपलब्ध नगराएको भन्दै माइतीघरमा एक्लै धर्नामा बसेका छन् ।
डा मल्लिक चैत १२ गतेदेखि माइतीघरमा धर्ना दिएर बसेका छन् । उनी अहिले पनि सिभिल अस्पतालमा ड्युटी सकेर धर्नामा बस्ने गरेका छन्।
