काठमाडौं- सरकारी सेवामा आवद्द नर्सहरुको साझा संघ गठन भएको छ। सरकारी सेवामा कार्यरत नर्सहरुले आज जिल्ला प्रशासन कार्यालयमा ‘सरकारी नर्सिङ संघ’ दर्ता गराएका छन्।
संघमा नर्स कल्पना श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिति बनाइएको छ।
संघकी तर्दथ समितिका उपाध्यक्ष रमिला चौलागाईंले सरकारी सेवामा कार्यरत नर्सको हकहितको आवाज उठाउन संघ गठन गरिएको बताइन्।
उनले भनिन्,‘हामीले एक वर्षअघि नै १७ सदस्यीय तर्दथ समिति गठन गरेर दर्ता प्रक्रिया अघि बढाएका थियौँं। एकवर्ष लामो प्रक्रिया आज पुरा भयो। स्वास्थ्य सेवा गुणस्तरीय बनाउन पहल गर्नु र सरकारी नर्सका समस्या, हकहितका लागि काम गर्छौं।’
उनले संस्थामा हालसम्म ७ सय नर्स आवद्ध भईसकेको जानकारी दिँदै भनिन्,‘देशभरका सरकारी नर्सहरुलाई आवद्ध गर्न पहल गर्ने, नर्सका समायोजन, सरुवा-बढुवा, सेवासुविधा जस्ता धेरै समस्याहरु छन्। ती समस्याका लागि काम गर्ने उद्देश्य हो।’
उनले केही दिनमा बैठक बसेर तीन महिनाभित्र अधिवेसन बोलाउने जानकारी दिइन्।
संघमा हाल अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष चौलागाईं, महासचिव राजकुमारी ज्ञवाली, सचिव मित्रा देवकोटा, कोषाध्यक्ष प्रमिला थकाली र अन्य १२ जना सदस्य रहेको तर्दथ समिति छ।