काठमाडौं- राष्ट्रिय ट्रमा सेन्टर र नेपाल ट्रक यातायात व्यवसायी महासंघबीच दुर्घटनामा परेका घाइतेको उपचार गर्न सम्झौता भएको छ। ट्रमा सेन्टरमा अस्पताल र महासंघबीच मुलुकी देवानी संहिता २०७४ को परिछेच्द २ को दफा ५० को उपदफा १, २ र ३ बमोजिम सम्झौता भएको हो।
उक्त सम्झौतामा ट्रमा सेन्टरका निमित्त निर्देशक डा सन्तोष पौडेल र नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्। सम्झौतामा अस्पतालका तर्फबाट शाखा अधिकृत जुना खड्का खत्री र नासु गंगा पौडेल र महासंघका तर्फबाट कोषाध्यक्ष ओमकृष्ण कार्की र सल्लाहकार हिरालाल श्रेष्ठ साक्षी बसेका छन्।
उक्त सम्झौतामा ट्रकबाट दुर्घटनामा परेका घाइतेको उपचारको लागि अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा उपलब्ध गराउने, उपचार गर्दा बिरामीको अवस्था हेरी सघन उपचार कक्ष र जनरल वार्डमा राखि उपचार गर्ने, शल्यक्रिया गर्नुपर्ने भएमा विस्तारित सेवा (इएचएस) बाट गर्ने र सकेसम्म कम खर्चमा उपचार गर्न अस्पतालले फोकल व्यक्ति तोक्ने उल्लेख छ।
सम्झौतामा अस्पतालले महासंघलाई सम्भव भएसम्म एम्बुलेन्स उपलब्ध गराउने, सवारी दुर्घटनामा परी अस्पताल भर्ना भएका बिरामीको सम्पूर्ण खर्च महासंघले व्यर्होने, त्यसका लागि महासंघले अस्पतालको माग बमोजिम अस्पतालमा स्थायी रुपमा धरौटी रकम जम्मा गर्नुपर्ने, अपूग भएमा तत्काल पेश्की पठाउनुपर्ने, धरौटी रकमको सक्कल बिल आर्थिक प्रशासन शाखामा उपलब्ध गराउनुपर्ने पनि उल्लेख छ।
त्यसैगरि शल्यक्रियाका लागि आवश्यक औषधि तथा इम्प्लान्ट अस्पतालले उपलब्ध गराउने, अस्पतालमा उपलब्ध नभए महासंघले चिकित्सकको सिफारिसमा बाहिरबाट खरीद गर्नुपर्ने र उपचारका क्रममा बिरामीको मृत्यु भएमा अस्पतालले तत्काल मौखिम जानकारी महासंघलाई दिने लगायतका विषय पनि सम्झौतामा उल्लेख छ।
दुवै पक्षको सम्झौताका लागि हेल्थ कन्सर्न नेपालले सहजीकरण गरेको थियो।