ब्युनस आयर्स- दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजलाई कोभिड–१९ सङ्क्रमण भएको छ। कोभिड–१९ को खोप लगाइसकेको भएपनि राष्ट्रपतिलाई सङ्क्रमण देखिएको राष्ट्रपति कार्यालयले शुक्रबार घोषणा गरेको छ।
राष्ट्रपति फर्नान्डेजले ट्वीट गर्दै आफूलाई ज्वरो र हल्का टाउको दुखेपछि एन्टिजेन परीक्षण गराएको र त्यसले कोभिड–१९ पोजेटिभ देखाएको बताएका छन्।
शुक्रबार ६२ वर्ष पुगेका राष्ट्रपति फर्नान्डेजले आफू आइसोलेसनमा रहे पनि शारीरिक रुपमा तन्दुरुस्त रहेको जनाए।
राष्ट्रपति फर्नान्डेजले रसियाली स्पुतनिक भी खोप लगाएका थिए। उनले दोस्रो डोज पनि गत फेब्रुअरी ११ मा लगाएको राष्ट्रपति कार्यालय स्रोतले एएफपीलाई बताएको छ।
अर्जेन्टिनामा हाल कोभिड–१९ को दोस्रो लहर चलेको छ र कोरोना सङ्क्रमितको संख्या दिनहुँ बढेको पाइएको छ।
अर्जेन्टिनामा कोभिडबाट २३ लाख मानिस सङ्क्रमित भएका र ५५ हजारभन्दा बढी व्यक्तिको निधन भइसकेको छ। रासस