अस्पतालमा मुस्कुराउँदै बिरामीको सेवामा निरन्तर खटिरहेका नर्सलाई देख्दा जो कोहीलाई पनि लाग्न सक्छ कि नर्सहरु कति खुसी छन्? नर्सको सेवा र मुस्कान देखेर अधिकांशले भन्छन् पनि, ‘बिरामीको सेवासँगै कमाइ पनि राम्रो हुने गजबको पेसा।’
तर, वास्तविकता निकै फरक छ। दिनरात नभनी निरन्तर बिरामीको सेवामा खटिने नर्सहरुको मुस्कानभित्र ठूलो पीडा छ। उनीहरुका पीडा छचल्किएर आँसुका रुपमा आँखासम्म आइसकेका हुन्छन्। र पनि, बिरामीको रोग निको पार्न र आफ्नो सेवामा कत्ति पनि कमी आउन नदिन नर्सहरु आफ्ना पीडा मनभित्र गाँठो पारेर लुकाउन बाध्य छन्। आँखासम्म आइसकेका आँसुलाई भित्रभित्रै लुकाइरहेका छन्।
मार्बल बिच्छ्याइएका चिल्ला र सफासुग्घर भुइँ भएका आलिसान भव्य अस्पतालभित्र चिटिक्क परेर सेवा दिइरहेका नर्सको काम देखेर सबैलाई नर्सको पारिश्रमिक आकर्षक लाग्नु स्वाभाविक पनि हो। तर, आम मानिसलाई के थाहा? त्यही आलिसान भवनभित्र अस्पतालको भवनभन्दा पनि ठूला पीडाका बीच नर्सले सेवा दिइरहेका छन् भन्ने। हेर्दै लोभलाग्दो भवनभित्र नर्सका सुन्नै नसक्ने असंख्य पीडा लुकेका छन्। एउटै अस्पतालमा काम गर्ने डाक्टरहरुले योग्यता र क्षमताअनुसारको पारिश्रमिक पाउँछन्।
तर, विडम्बना त्यही अस्पतालभित्र काम गर्ने नर्सले सित्तैमा काम गर्नुपर्छ। योग्यता छ, क्षमता छ, सीप छ, अनुशासन छ, जाँगर छ, सेवामा अरुभन्दा बढी खटिएकी पनि छ तर पनि उनीहरु सित्तैमा काम गर्न बाध्य छन्। एउटा मात्र होइन, हरेक अस्पतालमा यस्तै समस्या छ। आखिर नर्सलाई किन भोलुन्टरका नाममा अस्पतालहरुले लुटिरहेका छन्? वर्षौंसम्म सित्तैमा काममा लदाइरहेका छन्? पक्कै पनि यसमा सरकारको कमजोरी छ। सँगसँगै हामी नर्सहरुमा पनि थोरै कमजोरी छ। तर, ९० प्रतिशतभन्दा बढी कमजोरी सरकारकै हो।
अन्तर्राष्ट्रिय श्रम संगठनको सदस्य राष्ट्र नेपाल पनि हो। किन सरकारले उक्त कानुनविपरीत काम गर्ने अस्पताललाई कारबाही गर्न सक्दैन? सीप र योग्यता भएकी नर्सलाई किन भोलुन्टरका रुपमा काममा लगाइन्छ? भोलुन्टर प्रथालाई सरकारले किन हटाउन सक्दैन? सरकार चुप लागेर बस्दा अस्पतालका सञ्चालकहरुले अस्पतालमा आवश्यक नर्सिङ जनशक्तिको दरबन्दी भोलुन्टरका नाममा धानिरहेका छन्। अब यो कुव्यवस्थाको अन्त्य हुनैपर्छ। नर्सलाई भोलुन्टरका रुपमा राख्ने अस्पताललाई कारबाही गर्नैपर्छ। यो विषयमा हामी नर्सहरु पनि एकजुट हुनैपर्छ। एउटै अस्पतालमा ७०/८० जना नर्सले भोलुन्टरका नाममा सित्तैमा वर्षौंसम्म काम गरिरहँदा पनि आवाज उठाउन नसक्नु हाम्रो पनि कमजोरी हो।
नर्सका हकहितका लागि खुलेको नेपाल नर्सिङ संघ नर्सका आँसु पुछ्न छाडेर कहाँ हराएको छ? चुनावका बेलामा चर्का नारा लगाउने नर्सका नेताहरु यो विषयमा किन बोल्दैनन्? कतै उनीहरुले पनि निजी अस्पताल सञ्चालन गरेर आफैँ जुनियर नर्सहरुमाथि शोषण त गरिरहेका छैनन्? होइन भने यो विषयमा संघ चुप लाग्न मिल्दैन। एउटै अस्पतालमा डाक्टरलाई योग्यताअनुसारको कदर हुने तर नर्सलाई सधैँ रुवाइरहने अवस्थाको अन्त्य हुनैपर्छ। अब पनि यो विषयमा चुप बस्यौँ भने नर्सहरु आजीवन आँसुमा डुबिरहन्छन् र उनीहरुका काम र सेवाबाट अस्पतालहरु लुटतन्त्र चलाइरहन्छन्।
(काफ्ले त्रिवि शिक्षण अस्पतालमा कार्यरत नर्स हुन्)