काठमाडौं– मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान)को कार्यसमितिको पदावधी ६ महिना थप गरिएको छ।
कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै मेलानले कार्यसमितिको पदावधी आगामी ६ महिनाका लागि थप गर्ने निर्णय गरेको हो।
लुम्बिनी प्रदेशको बुटवलमा चैत २० गते बसेको पाँचौ पूर्ण बैठकमा पछिल्लो तीन वर्षे कार्यकालको समिक्षा गर्दै सो निर्णय गरेको हो।
बैठकले आगामी ६ महिना भित्र बिधानमा भएको व्यवस्था अनुसार जिल्ला र प्रदेश सम्मेलन सम्पन्न गर्ने निर्णय पनि गरेको छ।
यस्तै गुणस्तरीय र जनपक्षीय स्वास्थ्य प्रयोगशाला सेवा र सो पेसामा आबद्ध पेसाकर्मीहरुको हकहितको सुनिश्चितताको लागि सदैव समर्पित रहने निर्णय समेत गरेको छ।
मेलानले तीन वर्षे समग्र कार्यकाल उपलब्धि पुर्ण रहेको निष्कर्ष समेत निकालेको छ। यस्तै प्राप्त उपलब्धिलाई संस्थागत गर्दै पुरा हुन बाँकी लक्ष्य प्राप्तिको लागि थप प्रभावकारी ढङ्गले अगाडि बढ्ने, कानुनको अभाब र नीतिगत अस्पस्टताले स्वास्थ्य प्रयोगशाला सेवामा पारेको असरको बारेमा सरकारलाई विशेष ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ।
यस्तै स्वास्थ्य प्रयोगशाला सेवामा परीक्षण शुल्क निर्धारण नहुँदा र व्यवसायीहरु बिच देखिएको अस्वस्थ प्रतिस्पर्धाले सेवाको गुणस्तरियतामै गम्भीर प्रश्न उठ्ने गरेको विषयमा पनि छलफल भएको थियो। सो छलफलमा वैज्ञानिक शुल्क निर्धारण गर्न सरकारलाई रचनात्मक दवाब दिने, प्रयोगशाला दर्ताका बिषयमा देखिएका गम्भीर समस्याका बारेमा सम्बन्धित निकायहरुलाई ध्यानाकर्षण गराउने, आफ्ना सदस्यहरुलाई भैपरि आउदा सहयोग पुर्याउने उद्देश्यले ‘मेलान राहत कोष’ स्थापनाको प्रकृया आरम्भ गर्ने लगायतको निर्णय समेत गरेको छ।
स्वास्थ्य प्रयोगशाला सेवा प्रदायक संस्थाले प्रदान गर्दै आएको सेवालाई गुणस्तरीय र जनपक्षीय बनाउन त्यस्ता सस्थाहरुसँग समन्वय र सहकार्य गर्ने निर्णय समेत पूर्ण बैठकले गरेको छ।