काठमाडौं - नेपाल फार्मेसी काउन्सिलले १७ औँ नाम दर्ता परीक्षा प्रदेशस्तरमा गर्ने भएको छ। कोरोना महामारीको समयमा पहिलो पटक प्रदेशस्तरीय परीक्षा सञ्चालन गरेको काउन्सिलले पुनः प्रदेशस्तरमा सञ्चालन गर्न लागेको हो।
विद्यार्थीको सहजताका लागि प्रदेशस्तरीय परीक्षा सञ्चालन गर्न लागेको काउन्सिलका रजिष्ट्रार सञ्जिव कुमार पाण्डेयले बताए। सात वटै प्रदेशमा परीक्षा सञ्चालन गर्ने तयारी गरिएपनि आवेदकको घनत्व अनुसार निर्णय हुने उनले बताए।
१७ औँ नाम दर्ता परीक्षा आगामी जेठको दोस्रो सातापछि हुने छ। परीक्षामा सहभागी हुनका लागि काउन्सिलले सोमबारदेखि आवेदन फाराम खुला गरेको छ। काउन्सिलले एक सूचना जारी गरी चैत २३ गतेदेखि वैशाख २३ गतेसम्म आवेदन दिन सकिने जनाएको छ।
साथै काउन्सिलको १६ औँ नाम दर्ता परीक्षाको फार्मेसी सहायक तर्फको नाम दर्ता प्रमाण पत्र पनि आजदेखि नै वितरण हुने सूचनामा उल्लेख गरिएको छ।
