काठमाडौं - कलेजले अतिरिक्त शुल्क लिएको भन्दै नयाँ बजारस्थित पिपल्स डेन्टल कलेजका विद्यार्थीहरु आन्दोलित बनेका छन्।
त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले तोकेको भन्दा बढी शुल्क कलेजले विद्यार्थीबाट लिएको भन्दै उनीहरु आन्दोलित बनेका हुन्। बिडिएस अध्ययनका लागि २० लाख १९ हजार ५ सय ८० शुल्क तोकिएपनि कलेजले विभिन्न बहानामा २८ लाख जति लिने गरेको आन्दोलित एक विद्यार्थीले बताए।
कलेजले बढी शुल्क लिएपछि विद्यार्थीले कलेज परिसरमा धर्ना र र्याली गरेका छन्। शुल्क बढी लिएको विषयमा विद्यार्थीले आइओएम, जिल्ला प्रशासन कार्यालय सहित विभिन्न सरकारी निकायमा सहयोगका लागि धाएपनि कलेज प्रशासनले बेवास्ता गरेको बताए।
कलेजका एक विद्यार्थीले भने, ‘हामी निरन्तर दुई साढे दुई महिनादेखि आइओएम, सिडिओ, चिकित्सा शिक्ष आयोग धायौं तर हाम्रो माग सुनुवाई नभएपछि हामी आन्दोलित भएका हौँ।’
कलेज प्रशासनसँग सोमबार करिब तीन घण्टा वार्ता भएपनि कुनै निष्कर्ष ननिस्किएको उनले जानकारी दिए। उल्टै कलेज प्रशासनले कलेजबाट भर्ना रद्द गर्ने धम्की दिएको उनले बताए।
आफ्ना माग सुनुवाई नभए आन्दोलनका अन्य कार्यक्रम ल्याउन बाध्य हुने उनीहरुको चेतावनी छ। मंगलबार पुनः यस विषयमा छलफल गर्ने तयारी भएको उनले बताए।
कलेजका एक कर्मचारीले विद्यार्थीसँग छलफल भइरहेको जानकारी दिए। उनले यो विषयमा छिट्टै समस्या समाधान हुने पनि बताए।