काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले नेपालमा आगामी जेठ-असारमा कोरोना संक्रमणको अर्को उच्च बिन्दुमा पुग्नसक्ने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको वक्तव्यका क्रममा मन्त्री त्रिपाठीले पछिल्ला दिनमा फेरि संक्रमण बढ्न थालेकाले सतर्क रहन जोड दिएका छन्।
'हामीकहाँ फेरि कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा छ। अहिलेको अवस्थालाई हेर्दा जेठ-असारमा अर्को उच्च विन्दुमा पुग्ने देखिन्छ' उनले भने, 'छिमेकी भारतमा संक्रमण बढ्दो क्रममा रहेका कारण हामीले यसको नियन्त्रणका लागि आवश्यक काम अगाडि बढाइसकेका छौं।' उनले आम नागरिकले जनस्वास्थ्यको पूर्ण पालना गरेमा महामारीलाई नियन्त्रणमा लिन सहयोग पुग्ने बताए।
उनका अनुसार नेपालमा यसअघि जेठदेखि साउनसम्म र कार्तिकमा गरेर २ पटक कोरोनाको तरंग आएको छ। 'कात्तिक महिनामा संक्रमण उच्च थियो। कात्तिक ५ गते एकैदिन ५ हजार ७४३ जना नयाँ संक्रमित भेटिएका थिए,' उनले भने, 'त्यसपछि माघ पहिलो सातासम्म घट्दै न्युन अवस्थामा पुगेको संक्रमण पछिल्लो दिनमा फेरि बढ्न थालेको छ।'
उनले नेपालको अहिलेको अवस्था आतंकित हुनुपर्ने नभएको पनि बताए। 'संक्रमणको अवस्थालाई हेर्दा अहिले आतंकित हुनुपर्ने छैन,' उनले भने।
उनले कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि सरकारले आवश्यक कदम चालिरहेको जानकारी दिए। यसका साथै खोपको व्यवस्थापनमा पनि सरकार जुटिरहेको उनले बताए।
मन्त्री त्रिपाठीले कोभिड–१९ सङ्क्रमणको महामारी अन्त्य नहुन्जेल मास्क लगाउन, भौतिक दूरी कायम गर्न र साबुनपानीले हात धुनेलगायतका स्वास्थ्य मापदण्ड पूरा गर्न पनि आग्रह गरे।