काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को सिनेट बैठकमा पदाधिकारीको आलोचना भएको छ। बैठकमा सहभागी सदस्यहरुले पदाधिकारीको आलोचना गरेका हुन्।
सिनेटका अध्यक्षसमेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले समेत पदाधिकारीले हचुवामा ऐजेन्डा ल्याएको भन्दै आलोचना गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए। बैठकमा अस्पतालमा उपकरण खरिद, मर्मत, कोभिडको समयमा समेत अनियमितता भएको विषय पनि उठेको छ।
आइतबार बसेको बैठकमा मन्त्री त्रिपाठीले बजेटको खर्च पार्दशी नभएको भन्दै पदाधिकारीलाई आलोचना समेत गरेको ती सदस्यले जानकारी दिए। 'छलफलमा वीर अस्पतालका लेखा प्रमुखले २०७५, २०७६ र २०७७ को आयव्ययको विवरण प्रस्तुत गर्नुभएको थियो' एक सदस्यले भने, 'त्यसपछि मन्त्रीले हचुवामा ऐजेन्डा पेश गरेको भन्दै अध्ययनपछि मात्र सिनेटमा छलफल हुने जानकारी दिनु भयो। यसका साथै उहाँले आर्थिक पार्दर्शितामा पनि जोड दिनु भयो।'
बैठकमा मन्त्री त्रिपाठीले वीर अस्पतालको दुवाकोटमा विस्तार हुन लागेको विषयमा पनि चासो राख्दै उक्त परियोजनाको डिपिआर सुरु गर्न प्रतिष्ठानका उपकुलपति डा डिएन साहलाई मन्त्रालयसँग सहकार्य गरेर काम अघि बढाउन अख्तियारी दिएका छन्। यसका साथै अस्पताल परिसरमा बनेको नयाँ सर्जिकल भवनसँगै नयाँ नर्सिङ कलेजको भवन बनाउन आएको बजेट पनि पास गरि सैद्धान्तिक सहमति दिएका छन्।
यसका साथै वैशाखामा दीक्षान्त सभा गर्ने, डा गौरव ढकाललाई सिनेट सदस्यमा नियुक्ती गर्ने र केही प्राज्ञिक दरवन्दी थप्ने निर्णय समेत गरेको छ।
बैठकमा मन्त्री त्रिपाठीले देशमा धेरै प्रतिष्ठान र प्रतिष्ठानपिच्छे पदाधिकारी भएको हुँदा प्रतिष्ठानका लागि छुट्टै छाता ऐन ल्याउन पर्ने धारणा राखेका थिए।
सभामा मेडिकल काउसिलका अध्यक्ष डा भगवान कोइराला र चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले न्याम्स पुर्ण रुपमा स्वायत रुपमा सन्चानल हुनुपर्ने धारणा राखेका थिए।
बैठकभन्दा अगाडि कर्मचारी युनियनले राखेका २४ बुँदे मागका विषयमा भने केही निर्णय नभएको भन्दै युनियनले आपत्ति जनाएको छ।
कर्मचारी युनियनले प्रतिष्ठान ऐन, कर्मचारी नियमावली, अस्पतालको सेवा सुधार, आइसियु शय्या थप गर्नुपर्ने, ट्रमा सेन्टर वीर अस्पताल माताहत सञ्चालन हुनुपर्ने, अस्पतालको नया सर्जिकल भवन सञ्चालन, उपकरणहरुको मर्मत गर्नुपर्ने, कोभिड भत्ता उपलब्ध गराउनु पर्ने लगायतका २४ बुँदे माग राखेका थिए।