काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुले आज कोभिड-१९ विरुद्धको खोप लगाएका छन्।
सरकारले दोश्रो चरण अन्तर्गत व्यवस्था गरेको कोराना विरुद्धको अभियान अन्तर्गत खेलाडीहरुले खोप लगाएका हुन। उनीहरुले बुधबार अपरान्ह काठमाडौं चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरस्थित खोप केन्द्रमा पुगेर खोप लगाएका हुन्।
जिल्ला जनस्वास्थ्य काठमाडौंको पहल तथा ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरको सहकार्यमा संचालित खोप कार्यक्रममा खोप
लगाउने राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुमा पूर्व कप्तान पारस खड्का, क्याप्टेन ज्ञानेन्द्र मल्ल, खेलाडीहरु सन्दिप लामिछाने, सोमपाल कामी, विनोद भण्डारी, मोः आरिफ शेख, करण केसी, सुशन भारी, अविनाश वोहोरा, कमल सिंह ऐरी, ललित नारायण राजवंशी, लोकेश बहादुर बम, कुशल मल्ल, सन्दिप जोरा, दिपेन्द सिंह ऐरी, कुशल भुर्तेल, मोः असिफ शेख, शाहव आलम, पवन शराफ लगायत छन्।
उनीहरुले चीन सरकारबाट अनुदान प्राप्त भेरोसेल खोप लगाएका हुन्।
नेपाल सरकारले १८ देखि ५९ बर्ष उमेर समूहलाई लक्षित गरी चलाएको खोप अभियानमा यस पटक युवाहरुलाई विशेष प्राथमिक्तामा राखिएको छ। जसमा खास गरी उच्च शिक्षाका लागी चीनका विश्वविद्यालयमा अध्य्यन गर्न जाने तथा चीनबाट अध्य्यन गरी नेपाल फर्किएका र नेपालर्म बसोबास गर्नेहरुलाई समेत प्राथमकतामा राखिएको छ।
त्यसैगरी नेपालमा रहेर कामकाज गरीरहेका चीनिया नागरीकहरु, आयात निर्यातको व्यवसाय संचालन गर्ने व्यापारीहरु पर्यटन व्यवसायी तथा हिमाल आरोहण गर्ने पर्वतारोहीहरुलाई विशेष ग्राहयता दिने बताएको छ।
राष्ट्रिय क्रिकेट टोलीलाई ॐ हस्पिटलका अध्यक्ष डा आनन्द प्रसाद श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत तथा मेडिकल डाईरेक्टर डा हरिश जोशीले स्वागत गरेका थिए।



