काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचारका क्रममा वा कुनै पनि स्वास्थ्य सेवा लिने क्रममा सर्वसाधरणलाई चित्त नबुझेमा वा त्रुटिको आशंका लागेमा मन्त्रालयको हटलाइन नम्बरमा गुनासो टिपाउन सक्ने व्यवस्था गरेको छ।
मन्त्रालयले कुनै पनि स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा प्रवाह गर्ने क्रममा सेवाग्राही सर्वसाधारणलाई कुनै समस्या भएमा वा सेवा प्रदायकबाट कुनै त्रुटि भएमा हटलाइन नम्बर ११३३ मा कल गरेर गुनासो टिपाउन सक्ने व्यवस्था गरेको हो।
मन्त्रालयका अनुसार सर्वसाधारणले यो हटलाइन नम्बरमा बिहान ८ देखि बेलुका ८ बजेसम्म गुनासो टिपाउन सक्ने छन्। यसका साथै सर्वसाधारणले [email protected] मा पनि इमेल गर्न सक्ने व्यवस्था सुरु भएको मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीले जानकारी दिए।
डा अधिकारीका अनुसार यसरी आएका गुनासामा मन्त्रालयले गम्भीर रुपमा समन्वय गर्लै गुणस्तरीय सेवा प्रदान हुने व्यवस्था गर्नेछ। यसका साथै सम्बन्धित निकायहरुसँगको समन्वयमा छानबिन गरी सेवा प्रदायक व्यक्ति वा संस्था दोषी पाइएमा नियमअनुसार कारबाही समेत गर्ने मन्त्रालयले जनाएको छ।