काठमाडौं- नेपाल डेन्टल एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि शनिबार काठमाडौंमा मतदान हुने भएको छ। कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एसोसिएसनलाई जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्न र भिडभाड हुने गतिविधि नगर्न पत्र पठाएको छ।
मन्त्रालयको पत्र पाए लगत्तै एसोसिएसनले मतदान केन्द्रलाई भिडभाड नहुने गरी र जनस्वास्थ्यका मापदण्ड पालना हुने गरी बनाएको एसोसिएसनका अध्यक्ष डा प्रवीन्द्र अधिकारीले जानकारी दिए।
'मन्त्रालयको पत्रपछि हामीले मतदानस्थललाई पनि त्यही अनुसार बनाएका छौं' उनले भने, 'जनस्वास्थ्यका मापदण्डका विषयमा हामी सबै जानकार भएकाले हामीले त्यसलाई पालना गर्दै निर्वाचनको कार्यक्रम अगाडि बढाउने भएका छौं।'
एसोसिएसनको मतदानस्थल बिजुलीबजारस्थित क्रिस्टल पार्टी प्यालेस हो।
एसोसिएसनका प्रमुख निर्वाचन अधिकृत डा अनिल शाक्यले पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी र मन्त्रालयको निर्देशन अनुसार नै मतदान कार्यक्रम गर्ने जानकारी दिए। उनले यस विषयमा प्रमुख जिल्ला अधिकारी र मन्त्रालयमा समेत जानकारी गराइएको बताए।
'डेन्टल एसोसिएसनको उपत्यकामा हुन गइरहेको चुनावका सम्बन्धमा आजीवन सदस्यहरुबाट विभिन्न किसिमका गुनासोहरु पछि संक्रमणको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै जनस्वास्थ्यका तोकिएका मापदण्डको कडाईका साथ पालना गर्नु गराउनु तथा भिडभाड हुने कुनै पनि गतिविधिहरु नगर्नु नगराउनु हुन निर्देशानुसार अनुरोध छ', मन्त्रालयले एसोसिएसनलाई पठाएको पत्रमा भनिएको छ।
उपत्यकाबाहिर भने मतदान भइसकेको छ। चैत २१ गते उपत्यकाबाहिर मतदान सम्पन्न भएको हो। उपत्यकाबाहिर झापा, मोरङ, सुनसरी, जनकपुर, पर्सा, कास्की, चितवन, रुपन्देही, बाँके र कैलाली गरी १० वटा जिल्लामा चुनाव मतदान भएको थियो।
अध्यक्ष पदका लागि डा सुभित मास्के र डा कुम्भराज जोशी चुनावी मैदानमा छन्। एसोसिएसनको चुनाव हाल अध्यक्ष, महासचिव र कोषाध्यक्षका लागि मात्र हुँदैछ। उपाध्यक्ष, सह-सचिव र सदस्यहरुमा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। उपाध्यक्षमा डा अजय कुमार शाह निर्वाचित भइसकेका छन् भने महासचिवका लागि डा जोन गुरुङ र डा गालव अधिकारी मैदानमा छन्।
यस्तै, कोषाध्यक्ष पदका लागि डा निस्चल कुँवर र डा चेतन बस्नेत प्रतिस्पर्धामा छन्। सहसचिवमा डा विश्व प्रकाश ठाकुर र सदस्यहरुमा डा लोकेस वर्मा, डा हरी प्रसाद वली, डा खिलासा पोखरेल र डा अच्युत भट्ट निर्वाचित भइसकेका छन्।