काठमाडौं- सरकारले त्रिभुवन विश्वविद्यलयको स्वामित्वमा रहेको किर्तिपुरको ६० रोपनी जग्गामा नेफ्रोलोजी (मिर्गौला सम्बन्धि) र युरोलोजी (पिसाब प्रणाली) सम्बन्धि रोग तथा अन्य जटिल रोगको अध्ययन, अध्यापन तथा तालिमसहितको विशिष्ट स्वास्थ्य सेवा प्रदान गर्ने मेडिकल सुपरस्पेसियालिटी केन्द्र र राष्ट्रिय रोग निदान केन्द्र निर्माण गर्ने भएको छ।
मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले त्यसका लागि जग्गा उपलब्ध गराउन स्वीकृति दिने निर्णय भएको बताए। उनका अनुसार किर्तिपुरको परीक्षा नियन्त्रण कार्यालयको पश्चिम तर्फ रहेको ६० रोपनी जग्गामा केन्द्र बनाउन स्वीकृति दिइएको हो।
'शिक्षा मन्त्रालयको प्रस्तावमा त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत रहने गरी मेडिकल सुपरस्पेसियालिटी केन्द्र र राष्ट्रिय रोग निदान केन्द्र निर्माणका लागि जग्गा उपलब्ध गराउन स्वीकृति दिने निर्णय मन्त्रिपरिषद बैठकले गरेको हो,' प्रवक्ता गुरुङले भने।