काठमाडौं- सूर्यबहादुर अधिकारी। हिमा गाउँपालिका, जुम्लाका स्थायीवासी हुन् उनी। प्रगति अपांगताशील नामक संस्थाका अध्यक्ष पनि छन्।
नाम ‘सूर्य’, तर उनको जीवनगाथा भने ठीक त्यसविपरीत छ। बाल्यकालमै उनको जीवन अन्धकारमय भइदियो। करिब ५/६ वर्षको हुँदा उनी दसैंको माहोलमा रमाइरहेका थिए। त्यही माहोलमा फूपूसँग पिङ खेल्न गए।
फूपूले आफूसँगै राखेर पिङ खेलाउँदै थिइन्। दुर्भाग्यबस पिङ चुँडियो। उनको ढाडमा चोट लाग्यो। अनि, त्यहीँबाट सुरू भयो सूर्यबहादुरको अन्धकारमय जीवन।
भौगोलिक विकटता र राज्यले नै दूर... बनाएको जुम्लामै उनको सामान्य उपचार भयो। दुखाइ त कम भयो, तर त्यसपछि उनी हिँड्न नसक्ने अस्थामा पुगे। र, कम्मरभन्दा तलको भाग नचल्ने भयो।
जब उमेर बढ्दै गयो, जीवन झन् पीडादायी बन्दै गएको अनुभव उनले गर्नुपर्यो। त्यो घटना उनको जीवनमा कहिल्यै नपुरिने घाउ बनेर बसिदियो।
भौगोलिक विकटता, चेतनास्तर र आफू हुर्किएको समाजबाट सिकेका र भोगेका कुरा गर्दा महिनौं लाग्ने अनुभव संगालेका छन् सूर्यले।
सुरुमा त उनलाई थाहा थिएन, के कारण अपांग भएँ! बुबा आमालाई एउटै पीर थियो, ‘घरको साहिलो छोरा। अब यसले कसरी खान्छ? के गर्ला? हलो जोत्न सक्दैन। इन्डिया जान सक्दैन। दाजुभाइले रोटी देलान् कि त!’
आफूसँगैका साथीहरू रमाइलो गर्दै विद्यालय जाँदा सूर्यको मन खिन्न हुन्थ्यो।
‘म यस्तो किन भएँ? कसरी भएँ? मेरो भाग्य नै यस्तै हो कि? म बाँच्नुभन्दा त मर्नु नै बेस सोच्थेँ,’ गत साता काठमाडौंमा भएको मेरूदण्डको पक्षघात भएका व्यक्तिहरूको पहिलो राष्ट्रिय भेलामा भेटिएका सूर्यबहादुरले सुनाए।
![](https://nepallive.com/elFinder-2.1.51/files/Surya-Adhikari.jpg)
हुर्किंदै गर्दा बाहिरी वातावरणले पनि उनमा चेतना जगाउन सकेन। घरको आँगनभन्दा बाहिर जान सकेनन्। उनका लागि विद्यालय ‘आकाशको फल’ बराबर थियो।
सूर्यले १० वर्षको उमेरमै अर्को पीडा भोग्नुपर्यो। उनले आमा गुमाए। त्यसपछि अझै दु:खका दिन सुरू भए। आफूभित्रको पीडाले अब बाँच्छु जस्तो लाग्दैन्थ्यो उनलाई। चाडपर्व, ठूला जात्रा, बिहान विद्यालय जाँदै गरेका र बेलुका फर्किंदै गरेका साथी देख्दा उनको मन कुँडिन्थ्यो।
सानोमा अपांगता भएका व्यक्तिले पढ्नुपर्छ, राज्यले सुविधा दिन्छ, केही काम गरेर खान सकिन्छ भन्ने कहिल्यै सोचेनन्। किनकि, सोच्नलाई त त्यसबारे ज्ञान पनि हुनुपर्यो। उनलाई त्यतिबेला यी सबै कुराको बोध भएको भए अझ मिहिनेत गर्थेँ, र धेरै माथि पुगिसक्थेँ भन्ने लाग्छ।
ह्विलचियर भनेको त उनलाई थाहा पनि थिएन। अपांगता भएका व्यक्तिको पक्षमा वकालत गर्ने संघ/संंस्था हुन्छन्। राज्य हुन्छ। तर, उनका लागि ती सबै अस्तित्वविहीन थिए।
सूर्य भन्छन्, ‘सरकार भए पनि मेरो बुबा हुन्। राज्य भए पनि मेरो बुबा हुन्। संघ संस्था भए पनि मेरो बुबा हुन्।’
उनले कक्षा १ देखि १० सम्म घरमै पढे। परीक्षा दिनमात्रै उनी विद्यालय जान्थे। विद्यालयसम्म बुबाले नै बोकेर पुर्याउँथे। भीरको उकालो बाटो। करिब १० किलोमिटर टाढा थियो विद्यालय। विकट वस्ती र गरिबीमा हुर्किएका सूर्यका लागि पढ्नकै लागि सहर पुग्ने कल्पनाबाहिरको कुरा थियो। २०६८ सालमा एसएलसी प्रथम श्रेणीमा पास गरेपछि बल्ल उनलाई सदरमुकाम जुम्ला बजार जानुपर्छ भन्ने लाग्यो।
उनले जुम्ला बजार पुगेपछि केही दिन त हात घुट्टा टेकेरै दिनचर्या बिताए। पछि अपांगता पुन:स्थापना केन्द्र, जुम्लाले उनलाई ह्विलचेयर उपलब्ध गरायो। त्यसले उनलाई निकै सहज र ऊर्जा प्रदान गर्यो।
‘ओहो! एउटा ह्विलचियरले कति सजिलो बनाउँदो रहेछ भन्ने थाहा पाएँ,’ ह्विलचियर पाउँदाको क्षण सुनाउँदै सूर्यले भने।
उसो त उनले पाएको एउटा ह्विलचेयर थियो। तर, त्यसले उनीभित्र प्रदान गरेको ऊर्जा र साहस भने अद्भूत थियो।
जुम्ला बजार आएपछि नै हो उनलाई अब जिन्दगीमा केही न केही गर्नुपर्छ भन्ने आँट पलाएको। आफूजस्ता अपांगता भएका व्यक्तिलाई शारीरिक रूपमा सवल व्यक्तिसरह बाँच्न पाउने हक र अधिकार सरकारबाट स्थापित गराउनुपर्छ भनेर उनी अहिले लागिरहेका छन्।
पहिले त समाजका अघि देखिन पनि लाज लाग्थ्यो। ग्लानी हुन्थ्यो। जब उनले झमक घिमिरे, स्टेफन हकिङ, पारिजातलाई पढ्न थाले, उनीभित्र ऊर्जाको सञ्चार हुन थाल्यो। लाज र ग्लानीलाई उनले समाजकै अघि फ्याँकिदिए।
उनले अहिले बीए पास गरिसकेका छन्। पढाइकै क्रममा उनले कम्प्युटर पनि सिके। त्यसपछि उनी अपांगता विकास पुन:स्थापना केन्द्र, जुम्लाको साझेदारीमा सञ्चालित सीबीएम संस्थाको कोअर्डिनेटर (संयोजक) भए। त्यहाँबाट थप प्रेरणा मिल्यो।
अहिले उनी नेपाल सरकारको राष्ट्रिय परिचयपत्र-पञ्जीकरण विभागमार्फत सञ्चालित ‘एमएस अपरेटर’मा हिमा गाउँपालिकामा काम गरिरहेका छन्। त्यसमार्फत् आफूजस्तै धेरैलाई सहयोग गरिरहेको उनको भनाइ छ।
सूर्यबहादुर अहिले सवल व्यक्तिहरूलाई नै चुनौती दिन्छन्, ‘उनीहरूभन्दा म केही कुरामा पनि कम छैन। उनीहरूले गर्न सक्नेभन्दा बढी काम गर्न सक्ने क्षमता मभित्र छ। मैले खुट्टा गुमाएँ। दिमाग त गुमाएको छैन नि! अझै पनि दिमाग, आँखा र दुईवटा हात छन् मसँग। सहारा ह्विलचियर छ।’
कहीँ कतै भौगोलिक विकटताले ठगे पनि हत्तपत्त नआत्तिने उनको अठोट छ। भन्छन्, ‘मन, मस्तिष्क पूर्णरूपमा परिवर्तन गरिसकेँ। जस्तोसुकै आँधीबेहेरी र बज्रपात आए पनि अब आत्तिनेवाला छैन। किनभने जति दु:ख भोग्नु थियो भोगिसकेँ।’
सूर्यले केही समयअघि विवाह गरे। अहिले आएर बल्ल समाजका थोरै व्यक्तिहरूले अपांगता भएका व्यक्तिहरूले अवसर दियो भने गर्न सक्ने रहेछन् भनेर बुझ्न थालेका छन्। तर, अपांगता भएका व्यक्तिहरूले अझै पनि अवसर नपाएको उनको गुनासो छ।
सूर्य भन्छन्, ‘काठमाडौं मेरा लागि अमेरिकासरह भयो। म पहिलोपटक काठमाडौं आएँ। किनभने, हामीसम्म राज्यको पहुँच पुग्न सकेन।’
संघ-संस्था पनि त्यहाँसम्म पुग्न नसकेको उनको भनाइ छ। ‘घरपरिवार र गरिबीले हामीलाई यहाँसम्म आउनै दिएन। त्यसैले पनि मलाई आफू पछाडि परेको अनुभूति हुन्छ,’ उनको गुनासो छ।
काठमाडौं आइपुगेपछि यहाँ रहेका मेरूदण्डको पक्षघात भएका साथीहरूको हिँडाइ, डुलाइ, सम्बन्ध, उनीहरूले पाइरहेका सेवा सुविधा, गाँस, बास, कपासको व्यवस्था यति राम्रो देख्दा सूर्य चकित छन्।
आक्रोशपूर्ण शैलीमा उनी भन्छन्, ‘जुम्ला र काठमाडौंमा बस्ने साथीहरूको समस्या त एउटै हो नि। तर, जीवनशैली कति फरक। हामी त सबै मानव हो। यस्तै सेवा सुविधा मलाई पनि चाहिन्छ होला। यस्तै रहर मलाई पनि हुन्छ होला। यस्तै चिप्लो बाटोमा, नयाँ नयाँ ह्विलचियरमा, यस्तै संघ संस्थाका तालिम र मिडियामा आउने इच्छा चाहना मेरा र मजस्तै अपांगता भएका साथीहरूको होला नि! तर, भौगोलिक विकटता र राज्यका कारण सबैबाट साथीहरू वञ्चित छन्।’
दृष्टिविहीन र अन्य अपांगता भएका व्यक्तिहरू थुप्रै छन् जुम्लामा। तर, समाजभन्दा बाहिर आउनै मुस्किल परिरहेको छ। किनभने, उनीहरूलाई समाज र परिवारले त्यस्तो अवसर कहिल्यै दिएन। राज्य पनि त्यहाँसम्म पुग्न सकेको छैन।
कर्णालीमा अपांगता भएका व्यक्तिहरूलाई ह्विलचियर पाउन गाह्रो छ। दृष्टिविहीनका लागि ‘स्टिक’ (सेतो छडी) पाउन गाह्रो छ। बैसाखी पाउन गाह्रो छ। सूर्यबहादुर प्रश्न गर्छन्, ‘अपांगता भएका व्यक्तिहरूलाई राज्य र हरेक संघ संस्थाले हेर्ने दृष्टिकोण ठाउँअनुसार फरक किन?’
आफूले भोगेको र बुझाइका आधारमा अपांगता भएका व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोण फेर्न अझै एक शताब्दी लाग्ने उनी बताउँछन्।
अपांगता भएका व्यक्तिलाई दिइएको अधिकार दुरुपयोग
पछिल्लो समय राज्यले अपांगता भएका व्यक्तिहरूलाई दिएको पाँच प्रतिशत अधिकार पनि सवल व्यक्तिले लुटेको महसुस हुन्छ, उनलाई। उनले लोक सेवा अध्ययन पनि गरिरहेका छन्।
राज्यले अपांगता भएका व्यक्तिहरूलाई दिने सेवासुविधा लिन अपांगता परिचयपत्रकै दुरूपयोग भइरहेको उनको आरोप छ। ‘कसैले आँखा देख्दैन, कसैले कान सुन्दैन भनेर परिचयपत्र लिए। आँखा देख्दैन र कान सुन्दैन भनेकै भरमा परिचयपत्र लिएका छन्। हामी स्वयं अपांगता भएका व्यक्ति त फरक छौं नि!,’ उनले भने।
![](https://nepallive.com/elFinder-2.1.51/files/Apangata-Bhela2.jpg)
अपांगता भएका व्यक्तिको हक हितका लागि भन्दै खुलेका संघ संस्थामा संलग्न व्यक्तिहरू पनि स्वार्थमा डुबेको उनको आरोप छ। भौगोलिक विकटता भएका ठाउँमा जान नसक्ने र सम्बन्धित अपांगता भएका व्यक्तिले आवाज उठाउन नसक्ने हुँदा अपांगता भएका व्यक्तिलाई भर्याङ बनाएर केही मानिस माथि पुगिरहेको उनको तर्क छ।
‘गोब्रे किरो गोबरसँग लडीबुडी गर्दै जिउनका लागि संघर्ष गरिरहेको हुन्छ। हामी त मानिस हौं।’ यही सोचका साथ सूर्यबहादुर आजको स्थितिमा आइपुगेका छन्। तर, कयौं व्यक्तिहरू आत्महत्या गर्न तयार रहेको र सुन्न नसकिने शब्द सुनिरहेको देखिरहेका छन्। रोइरहेका छन्। खान र पढ्न पाएका छैनन्। कतिपयले अपांगतालाई नै स्वीकार गर्न नसकेको सूर्यबहादुरको भनाइ छ। त्यसैले दुई/चार जनालाई हेरेर समग्रतामा मूल्यांकन गर्न नमिल्ने उनको तर्क छ।
राज्य र अपांगता भएका व्यक्तिका लागि काम गर्ने संघ संस्थासँग सूर्यबहादुरको माग छ, ‘सुविधा सम्पन्न स्थानमा मात्रै नभई समाज र परिवारभन्दा बाहिर निस्किन नसकेका व्यक्तिहरूसम्मको पहुँचमा कार्यक्रम केन्द्रित गरौं।’
०००
द्वन्द्वको घाउ बिर्सिने प्रयास...
कालिकोटका किशोरबहादुर शाही नेपाल प्रहरीको नायव निरीक्षक (सई) थिए। २०६१ साल माघ १४ गते उनको जीवनमा कालो दिन बनेर आइदियो। त्यो दिन तत्कालीन विद्रोही माओवादीसँग कैलालीमा दोहोरो भिडन्त पर्यो। त्यही भिडन्तमा उनलाई गोली लाग्यो। पछि उनलाई मेरूदण्डको पक्षघात भयो।
त्यो भिडन्तमा १२ जना सुरक्षाफौजले ज्यान गुमाएको र ५२ जना घाइते भएको उनी सम्झन्छन्। घाइतेमध्ये शाहीसहित दुई जनालाई मेरूदण्डको पक्षघात भयो। त्यसपछि शाही काठमाडौं आए र यही रिह्याव गरे।
तर, उनले आफूलाई हजार प्रयत्न गर्दा पनि सम्झाउन सकेनन्। अन्तत: उनले आत्महत्याको प्रयास गरे। नेपाल प्रहरीमा सधैँ स्वस्थ र व्यस्त रहने उनका लागि अब संसार सकियो भन्ने लाग्यो। २४सै घण्टा सक्रिय रहने उनले कहिल्यै कल्पना पनि गरेका थिएनन्, मेरूदण्डको पक्षघात होला भन्ने।
![](https://nepallive.com/elFinder-2.1.51/files/Kishor-Shahi.jpg)
बन्दुक बोकेर युद्ध लडेका उनले दोहोरो भिडन्तमा परेर ह्विलचियरको सहारामा बाँच्नुपर्दा जिन्दगी नै अँध्यारो देखे। खानादेखि दिसा, पिसाबसमेत ओछ्यानमै गर्न थाले। समाज र परिवारको सहयोग हुँदा-हुँदै पनि शाहीले आफ्नो मनलाई मनाउन सकेनन्। यसरी बाँच्नुभन्दा मर्नुपर्छ भन्ने लागेर नै आत्महत्याको प्रयास गरेको शाही बताउँछन्।
‘सुरूमा म मट्टीतेल छर्केर मर्छु भनेर लागें। तर, त्यतिबेला मट्टीतेल पाउन सहज थिएन। लिन गएँ, तर पाइनँ। दोस्रो पटक पेट्रोल लिन गएँ। त्यतिबेला पनि त्यही समस्या भोगेँ,’ उनले आफ्नो पीडादायी क्षण सुनाए।
पेट्रोल पनि नपाएपछि शाहीले आत्महत्या गर्न अन्य विकल्प खोज्न थाले। ‘तेस्रोपटक ब्लेडले नसा काटेर आत्महत्या गर्छु भन्ने लाग्यो। र, शाैचालयमा गएर नसा पनि काटेँ,’ यो सुनाइरहँदा उनी निकै भावुक बनेका थिए।
काटेको नसाबाट रगत बगिरहेको थियो। त्यतिबेला नै उनले त्यही भुइँमा दिसा गरेछन्। भोलि लास गन्हाउँछ, उठाउने मान्छेलाई गाह्रो हुन्छ भन्ने सोचेर उनले दिसा सफा गरेछन्।
त्यही क्रममा उनलाई आत्मबोध भयो, ‘म नेपाल प्रहरीको सई। राज्यले सारा कुरामा सेवा सुविधा दिएको छ। उपचार गरिदिएको छ। म जत्तिको आर्थिक स्थिति पनि ठिकठाक भएको व्यक्तिले यसरी आत्महत्या गरें भने कालिकोट, हुम्ला, जुम्ला, मुगुलगायत विकट ठाउँका गरिबीमा हुर्किरहेका व्यक्तिहरू कसरी बाँचिरहेका होलान्!’
त्यसपछि दुर्गममा अपांगता भएका व्यक्तिहरूका लागि केही गर्नुपर्छ भन्ने उनलाई लाग्यो। उनीसँग त प्रहरीमा हुँदा लिएको तालिमको अनुभव पनि थियो। त्यसको सदुपयोग गर्नुपर्छ भन्ने सोचे। र, आत्महत्या गर्ने प्रयासबाट बाहिर निस्किए।
खेलकुद संघ गठन
शाही नेपाल स्पाइनल कर्ड इञ्जुरी खेलकुद संघका संस्थापक अध्यक्ष पनि हुन्। अपांगता भएका अरू व्यक्तिहरूलाई पनि जोड्नुपर्छ भन्ने सोचले २०६७ सालमा सात जना मिलेर नेपाल स्पाइनल कर्ड इञ्जुरी खेलकुद संघ गठन गरिएको उनी बताउँछन्।
संघले स्थापनासँगै ह्विलचेयर बास्केट बल, ह्विलचियर क्रिकेट, ह्विलचियर स्विमिङ लगायतका खेललाई अगाडि बढायो। अहिले ह्विलचियर बास्केट बलका करिब २० वटा जति क्लब छन्। क्रिकेटको आफ्नै संघ छ।
नेपालमा अपांगता भएका व्यक्तिहरूका लागि खेलकुदको राम्रो व्यवस्था थिएन। मेरूदण्डको पक्षघात भएपछि शाही अपांगता भएका व्यक्तिलाई खेलकुदको व्यवस्था राम्रो हुनुपर्छ भन्नेतर्फ लागे।
अहिले उनी सुर्खेतमा बस्छन्। कालिकोट र सुर्खेतमा काम गरिरहेका छन्। उनको एउटै उद्देश्य छ, दुर्गममा अपांगता भएका व्यक्तिहरूलाई जोड्नु र आत्मनिर्भर बनाउनु। उनीहरू मिलेर अहिले सुर्खेतमा उद्योग दर्ता गरेका छन्। त्यहाँ १५ जनाले ट्र्याकसुट उत्पादन गरिरहेका छन्। त्यसअघि उनीहरूले तालिम लिएका थिए।
सुर्खेतमै अपांगता भएका व्यक्तिहरूको कृषि समूह बनाएर १० बिगाह जग्गामा बेसार खेती गरिरहेका छन्। त्यसमा ४० जना संलग्न छन्। त्यस्तै कार्यक्रमहरू जिल्लामा लैजान सकिने उनको भनाइ छ।
![](https://nepallive.com/elFinder-2.1.51/files/Apangata-Bhela.jpg)
स्पष्ट नीतिको खाँचो
स्थानीयदेखि संघीय सरकारसम्मले स्पाइनल कर्ड इञ्जुरीसम्बन्धी स्पष्ट नीति बनाउनुपर्ने शाही बताउँछन्। त्यसका लागि सुरूमा स्पाइनल कर्ड इञ्जुरी भएका व्यक्तिहरूको समस्या बुझ्नुपर्ने उनको सुझाव छ। आफूहरू सक्षम छौं भनेर रारा पुगेर गरेका प्रतियोगिताले पनि प्रमाणित गरिसकेको शाहीको भनाइ छ।
उनी भन्छन्, ‘म अपांग होइन। राज्यको संरचना र नीति अपांगमैत्री नभएको हो। राज्य अपांग छ। अपांगतामैत्री संरचना भयो भने जो जहाँ हुन्छौं, त्यही काम गर्न सक्छौं।’
र, राज्यले स्वास्थ्य, शिक्षा, खेलकुदलगायत क्षेत्रमा राम्रो लगानी गर्न सक्यो भने आफूभित्रको क्षमता अपांगता भएका व्यक्तिहरूले पनि बाहिर ल्याउन र आफ्नो जीवन अगाडि बढाउन सक्ने उनको धारणा छ।
देशमा अनेक परिवर्तनका लागि लड्दा घाइते भएकाहरूप्रति राज्यले नै बेवास्ता गरेकोप्रति शाही दु:खी छन्। देशका ३० लाख अपांगता भएका व्यक्तिहरूलाई बाहिर राखेर राज्य सम्पन्न हुन नसक्ने उनको तर्क छ।
०००
एम्बुसबाट प्राण त जाेगियो, तर आधा शरीर नचल्ने भए
दोलखाका कृष्णबहादुर घिसिङले २०४३ सालमा एसएलसी दिए। एसएलसीपछि उनलाई इन्डियन आर्मीमा भर्ती हुने जाँगर चल्यो। र, उनी इन्डियन आर्मीमा भर्ती भए। तर, उनको मन त्यहाँ धेरै लामो समय रम्न सकेन। भर्ती भएको डेढ/दुई वर्षमै उनी इन्डियन आर्मीबाट भागेर नेपाल फर्किए। पछि आइए पनि पास गरे।
इन्डियन आर्मीको जागिर छोडेका घिसिङले काठमाडौंमै केही गर्ने योजना बनाए। र, ट्याक्सी किने। त्यसबाट सोचेजस्तो आम्दानी नभएपछि उनले बस किने। परिवार चलाउने माध्यम नै त्यही बस बन्यो।
![](https://nepallive.com/elFinder-2.1.51/files/Krishna-Bahadur-Ghising.jpg)
द्वन्द्वकालको समय थियो। परिवार दोलखामै थिए। परिवार भेट्न उनी एक दिन काठमाडौंबाट दोलखाको बस चढे। तर, त्यो दिन घर पुग्न पाएनन्। बाटोमै तत्कालीन विद्रोही माओवादीले थापेको एम्बुसमा परे।
आर्मी, पुलिसका लागि थापिएको भनिएको एम्बुसमा निहत्था नागरिकले मूल्य चुकाउनुपर्यो। घटना २०५९ सालको हो। १९ दिनसम्म त उनले आफ्नो अवस्थाबारे थाहा नै पाएनन्। छाउनीमा १९ दिनसम्म उपचार भयो। पछिमात्रै उनले थाहा पाए, आफूलाई त मेरूदण्डको पक्षघात पो भएछ।
एम्बुसमा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो। चरिकोट पुग्दा एक र अस्पतालमा एक जनाको मृत्यु भएको थियो। २२ जना घाइते भएका थिए।
‘उपचारपछि बाँच्ने मौका पाइयो। तपाईंहरूसँग पनि भेट्न पाइयो। मान्छेको जीवन कसरी जिउनुपर्छ आफ्नो ठाउँमा छ। अहिले भन्दा पनि अजिव लाग्छ। त्यतिबेला त यो जिन्दगी गयो, सकियो भन्दै हरेक दिन रून्थेँ,’ घिसिङले आफ्नो तीतो र दु:खद् भोगाइ सुनाए, ‘१९ दिनसम्म खाने, बस्ने केही थाहा थिएन। दुईवटा खुट्टा नचल्ने र एउटा हात पनि भाँचिएको थियो।’
राजा ज्ञानेन्द्रका पालामा गाउँमा ‘भी-सेट’ फोन चलाइरहेका थिए। त्यही सेरोफेरोमा यूएनका प्रतिनिधिहरू द्वन्द्वका घाइते खोज्दै गाउँ पुगे। उनीहरूले ‘के गर्नु हुन्छ?’ भन्दै सोधे।
त्यहीबेला घिसिङले भने, ‘मलाई कम्युटर चलाउन सिकाइदिनुहोस्।’ आईसीआरसीको सहयोगमा घिसिङले कम्युटर सिके।
अहिले चरिकोटमै साइबर चलाइरहेका छन्। अरूलाई पनि कम्प्युटर सिकाइरहेका छन्। पछिल्लो समय नै कानुनको स्व: अध्ययनमा लागेका घिसिङले मुचुल्का लेख्नेदेखि कागजपत्र मिलाउने काम पनि गर्छन्।
संघर्षपूर्ण दिन बिताउँदै अहिलेको अवस्थामा आइपुगेका घिसिङ विभिन्न संघ संस्थामा आबद्ध छन्। मेरूदण्ड पक्षघात समूह, बागमती प्रदेशको उपाध्यक्षको जिम्मेवारीमा समेत उनी क्रियाशील छन्।
०००
परदेशबाट पीडा लिएर फर्कंदा...
गोरखाका ऋषिराम ढकाल रोजगारीको सिलसिलामा २०५८ सालमा मलेसिया गएका थिए। ल्लास्टिक कम्पनीमा ढकालको काम राम्रै चलिरहेको थियो। कमाइ पनि राम्रै थियो। तर, त्यो काम लामो समय चल्न सकेन। मलेसिया गएको दुई वर्षमै कामको सिलसिला रोकियो। २०६० सालमा काम गर्दा-गर्दै मेसिन दुर्घटनामा परे। एक महिना मलेसियामै उनको उपचार भयो। त्यहाँ खासै सुधार नभएपछि नेपाल पठाइयो।
‘त्यतिबेला मलाई नेपाल फर्किन धेरै नै ग्लानी भयो। फर्किन नपरे हुन्थ्यो भन्ने लाग्यो। कि ठीक भए हुन्थ्यो, कि मर्न पाए हुन्थ्यो भन्ने सोचेँ,’ ढकाल सम्झन्छन्।
![](https://nepallive.com/elFinder-2.1.51/files/Rishiram%20Dhakal.jpg)
विदेशमा कमाउनका लागि जाँदा राम्रो र बलियो शरीर लिएर गएका उनका लागि मृतसमान शरीर लिएर आउनुपर्दा नेपाल फर्किएपछि सुरुआती समय तनावपूर्ण रह्यो। नेपाल फर्किएपछि ढकालले स्पाइनल इन्जुरी पुन:स्थापना केन्द्रमा छ महिना काम गरे।
त्यहीबाटै उनलाई जीवन अगाडि बढाउने प्रेरणा मिल्यो। देश विदेशका मानिसहरूसँग भेटघाट र संगत हुन थाल्यो। केही विदेशी साथीहरू पनि देखे। जसको हातको औँला चल्दैनथ्यो। तर, उनीहरू मज्जाले पौडिन सक्थे।
एकदिन हातको औंला नचल्ने साथीसँगै थिए ढकाल। ती साथी एक्कासी ह्विलचियरबाट पोखरीमा हाम फालेछन्। उनी डराए।
‘ओहो! यो डुबेर मर्नेभयो अब। तर, डुबेको मान्छे मज्जाले पारी निस्कियो। मेरो त हात, औँला चल्छ। बलियो छु। मैले किन सक्दिन्नँ भन्ने सोचेर सात दिनसम्म अभ्यास गरेँ। र, पौडिन सिकेँ। अहिले बास्केट बल, क्रिकेटलगायत खेल खेल्छु,’ ढकालले भने।
अहिले उनी मेरूदण्ड पक्षघात संघको अध्यक्षदेखि प्रेरक (मोटिभेटर)को काममा संलग्न छन्। पुन:स्थापना केन्द्रबाट बाहिर निस्किएपछि उनी कोठा लिएर बस्न थाले। त्यही सिलसिलामा विवाह पनि गरे। बिहेपछि गोरखास्थित घर गए। १५ दिनका लागि घर गएका उनी धेरै दिन बस्नै सकेनन्। र, तीन दिनमै घरबाट फर्किए।
‘गाउँका वृद्धवृद्धाहरू जसले मलाई पहिले देखिरहनुभएको थियो, उहाँहरू तल गाउँबाट आउनुहुन्थ्यो, र रूनुहुन्थ्यो। जतिबेला पनि विचरा भन्नुहुन्थ्यो। विदेश जानुअघि उहाँहरूलाई पर्दा सघाउन जान्थेँ। खेतबारी खन्दिने, बाली ढल्याउन सहयोग गर्थेँ। मसँग बल थियो, शक्ति थियो,’ उनले भने।
अहिले उनको परिवार चितवन बसाइँ सरेको छ। गोरखा गाउँ जान मन लागे पनि त्यसपछि उनी कार्यव्यस्तता र अनेक कारण जान पाएका छैनन्।
![](https://nepallive.com/elFinder-2.1.51/files/Apangata-Bhela3.jpg)
हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक
अपांगता जो कसैलाई जतिखेर पनि हुन सक्छ। बलियो शरीर लिएर विदेशमा रोजगारीका लागि गएका व्यक्ति अपांगता भएर आउन सक्छन्। अथवा, आज राम्रैसँग हिँड्न सक्ने व्यक्ति विभिन्न दुर्घटना परेर अपांगता हुन सक्छन्। त्यसैले सुरूमा समाजले हेर्ने दृष्टिकोणमै परिवर्तन आउनुपर्ने ढकाल बताउँछन्।
सरकारले अपांगता भएका व्यक्तिको हक हितका लागि अन्तर्राष्ट्रिय महासन्धिमा हस्ताक्षर गरिसकेकाले त्यसको तत्काल कार्यान्वयन गर्नुपर्ने उनी बताउँछन्। त्यसो भयो भने अपांगता भएका व्यक्तिहरूको शिक्षा, स्वास्थ्य, रोजगारीलगायत क्षेत्रमा पहुँच पुग्ने र सहजै आफ्नो जीवनयापन गर्नसक्ने ढकालको बुझाइ छ।
०००
अधिकारी, शाही, घिसिङ र ढकाल त प्रतिनिधि पात्र मात्र हुन्। उनीहरू चारै जना गत साता काठमाडौंमा भएको मेरूदण्डको पक्षघात भएका व्यक्तिहरूको पहिलो राष्ट्रिय भेलामा भेटिएका हुन्।
उनीहरूजस्ता धेरै उदाहरणीय काम गरिरहेका व्यक्तिहरू उक्त भेलामा भेटिएका थिए। तर, अझै पनि देशका दुर्गम क्षेत्रमा अपांगता भएका धेरै व्यक्तिहरूले पीडादायी जीवन बिताइराख्नुपरेको छ।
सूर्यबहादुरले भनेजस्तै राज्यले दिने सेवा सुविधा र संघसंस्थाको कार्यक्रममा दूरदराजका वास्तविक अपांगता भएका व्यक्तिहरूको पहुँच पुग्न सकेको छैन। केही व्यक्तिले अपांगता भएका व्यक्तिको नाममा फाइदा लुटिरहेका छन्।
आफूहरूलाई कमजोर ठान्ने, बोझको रूपमा लिनेभन्दा सक्षम बनाउनेतर्फ सहयोग हुनुपर्ने अपांगता भएका व्यक्तिहरूको माग छ। यसले अपांगता भएका व्यक्तिहरूमा आत्मनिर्भर भएर बाँच्न र समाजका लागि केही गर्न ऊर्जा मिल्ने उनीहरूको भनाइ छ।