काठमाडौं - नेपाल डेण्टल एशोसिएसनको नयाँ नेतृत्व चयनका लागि निर्वाचन सुरु भएको छ। निर्वाचन अन्तर्गत शनिबार काठमाडौं उपत्यमा मतदान भइरहेको छ। यसअघि २१ गते शाखा कार्यालयहरूमा चुनाव भएको थियो।
काठमाडौं उपत्यका बाहिर झापा, मोरङ, सुनसरी, जनकपुर, पर्सा, कास्की, चितवन, रूपन्देही, बाँके र कैलाली गरी १० वटा जिल्लामा चुनाव भइसकेको एशोसिएसनले जनाएको छ। उक्त चुनावमा ७५ प्रतिशतभन्दा बढी मतदान भएको प्रमुख निर्वाचन आयुक्त डा अनिल शाक्यले बताए।
एशोसिएसनको चुनाव अध्यक्ष, महासचिव र कोषाध्यक्षका लागि मात्र हुँदैछ। उपाध्यक्ष, सहसचिव र सदस्यहरूमा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।
अध्यक्षका लागि डा सुभित मास्के र डा कुम्भराज जोशी चुनावी मैदानमा छन् भने महासचिवका लागि डा जोन गुरुङ र डा गालव अधिकारी मैदानमा छन्।
उपाध्यक्षमा डा अजयकुमार शाह यसअघि निर्वाचित भइसकेका छन्। यस्तै, कोषाध्यक्ष पदका लागि डा निश्चल कुँवर र डा चेतन बस्नेत प्रतिस्पर्धामा छन्। सहसचिवमा डा विश्व प्रकाश ठाकुर र सदस्यहरूमा डा लोकेश वर्मा, डा हरिप्रसाद वली, डा खिलासा पोखरेल र डा अच्युत भट्ट निर्वाचित भइसकेका छन्।
कुल मतदाता १ हजार ६ सय ८८ जना छन्। शाखा कार्यालयमा मतदान गर्न छुटेका २५ प्रतिशतले आज मतदान गर्न पाउने प्रमुख निर्वाचन आयुक्त डा शाक्यले बताए। मतगणना आजै साँझ ५ बजेदेखि सुरु हुने र अन्तिम नतिजा राति १० बजेसम्म आउने शाक्यले बताए।