काठमाडौं- जनस्वास्थ्यमा विशेषज्ञता राख्ने चिकित्सकहरूको हकहितका लागि स्थापित नेपाल पब्लिक हेलेथ चिकित्सक समाज (सोफिन) लामो समयदेखि निस्क्रिय भएको छ। कोरोना भाइरसको महामारी सुरु हुनुअघिदेखि नै निस्क्रिय रहेको समाजका अध्यक्षले केही समयअघि राजीनामा दिएका छन्।
समाजका अध्यक्ष डा भिम आचार्यले चैत ३ गतेदेखि नै लागू हुने गरी राजीनामा दिएका हुन्। डा आचार्य ०७५ साल असोज २८ गते समाजको अध्यक्ष थिए। डा आचार्यमा नेतृत्वमा आएदेखि नै समाज निस्क्रिए भएको समाजका एक सदस्यले जानकारी दिए। डा आचार्यको कार्यकालमा कोरोना महामारीको समयमा एउटा प्रेस विज्ञप्ति निकाल्ने बाहेकको काम हुन नसकेको उनले जानकारी दिए।
समाजको कार्यसमिति हरेक दुई वर्षमा परिवर्तन हुन्छ। कोरोना महामारीका कारण यसपटक नयाँ कार्यसमिति आउन ढिला भएको छ। नयाँ कार्यसमिति चयनका लागि समाजको साधारणसभा हुनुपर्छ। तर समाजको वर्तमान कार्यसमिति नै निस्क्रिय रहेका कारण साधारणसभा कहिले हुने भन्ने पनि टुंगो छैन।
अध्यक्ष डा आचार्यले व्यक्तिगत कारण देखाउँदै समाजको अध्यक्षबाट राजीनामा दिएका छन्।
समाजमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका महत्वपर्ण महाशाखाको सफल नेतृत्व गरेका चिकित्सकहरु समेत छन्। यसका साथै जनस्वास्थ्यका क्षेत्रमा क्रियासिल संस्थामा नेतृत्व तहमा रहेका व्यक्ति समेत छन्। तर उनीहरुको साझा संस्था भने निस्क्रिय बन्न पुगेको छ।
विगतमा समाजले जनस्वास्थ्यका क्षेत्रमा नीतिगत छलफल गर्ने, स्वास्थ्य मन्त्रालयलाई सुझाव दिने, जनस्वास्थ्यका क्षेत्रमा देखिएका समस्याका विषयमा छलफल गरेर समाधानका उपायहरु सुझाउने लगायतका काम गर्थ्यो। तर केही वर्षयता समितिले कुनै पनि छलफल गर्न सकेको छैन।
समितिको वर्तमान कार्यसमितिमा उपाध्यक्षमा डा नरेशप्रताप केसी, महासचिवमा डा अमित भण्डारी, सहसचिवमा डा नस्तु शर्मा र कोषाध्यक्षमा डा आशिष केसी छन्।
यसैगरी सदस्यहरूमा डा अर्चना अमात्य, डा विकास देवकोटा, डा भीमसिंह टिंकरी, प्राडा सुनिल जोशी र डा मदनकुमार उपाध्याय छन्।
समितिका निवर्तमान अध्यक्ष डा यशोवर्धन प्रधान हुन्। समाजमा झन्डै एक सय सदस्य छन्। नेपालमा दुई सयभन्दा बढी जनस्वास्थ्य क्षेत्रका चिकित्सकहरु छन्।
समाज सन् २००४ मा स्थापना भएको हो।