काठमाडौं- नेपाल फिजियोथेरापी संघले फिजियोथेरापिष्टहरुको न्युनतम मासिक तलबदेखि परामर्श शुल्क तोकेको छ। चिकित्सकहरुले केही समयअघि परामर्श र मासिक शुल्क तोकेका थिए। चिकित्सककै जसरी संघले पनि फिजियोथेरापिष्टको पनि शुल्क तोकेको हो।
संघले आइतबार विज्ञप्ति जारी गर्दै शुल्कको विषयमा जानकारी दिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कार्यरत फिजियोथेरापीष्टहरुको मासिक तलब, सेवा शुल्क सम्बन्धी कुनै निर्णय नगरेको भन्दै संघले उक्त कदम चाल्नु परेको जनाएको छ।
संघले फिजियोथेरापी सेवा प्रदायकहरुको योग्यता र अनुभावका आधारमा न्युनतम तलब र परामर्श तथा सेवा शुल्क तोकिएको छ। तोकिएको शुल्क वैशाखबाट लागू हुने पनि संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
संघले तलब निर्धारण गर्दा दैनिक ७ घण्टाको कार्यालय समय मान्ने विज्ञप्तिमा उल्लेख गरेको छ। यस्तै बिरामीको उपचारमा लाग्ने समय र फिजियोथेरापीष्टको सक्रियताको आधारमा न्युनतम सेवा शुल्क निर्धारण गर्ने र फिजियोथेरापिष्टहरुले विशेष सिप अथवा प्रविधिको प्रयोग वापत शुल्क लिन पाउने कुरा पनि विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्ति अनुसार प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेका फिजियोथेरापिष्टहरुको पाँच वर्षभन्दा कम अनुभव भएमा १८ हजार, ५ वर्षभन्दा बढी अनुभव भएमा २५ हजार मासिक तलब तोकिएको छ।
यस्तै, स्नातक तह सहित पाँच वर्ष अनुभव रहेकालाई ३० देखि ४० हजार, स्नातकोतर तह र पाँच वर्ष अनुभव भएकालाई ४० देखि ५५ हजारसम्मको मासिक तलब दिनुपर्ने निर्णय संघले गरेको छ।
यसका साथै संघले परामर्श शुल्क पनि सोही अनुसार तोकेको छ। योग्यता र अनुभावका आधारमा परामर्श शुल्क ४ देखि ६ सयसम्म लिनसक्ने निर्णय संघले गरेको छ।
स्नातक तहसहित पाँच वर्षभन्दा कम अनुभव भएकाले ४ सय रुपैयाँ, ५ वर्षभन्दा बढी अनुभव भएकाले ५ सय रुपैयाँ लिनेसक्ने निर्णय संघले गरेको छ।
यसैगरी, स्नातकोत्तर तहसहित पाँच वर्षभन्दा कम अनुभव भएकाले ५ सय र ५ वर्षभन्दा बढी अनुभव भएकाले ६ सय लिनसक्ने निर्णय भएको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
हेरौं संघको विज्ञप्तिको पूर्ण पाठ

